विराटनगर – प्रदेश एकको सम्पर्क राजधानी धनकुटा तोकिएको छ। मंगलबार बसेको मन्त्री परिषद् बैठकले धनकुटालाई सम्पर्क राजधानी तोकेको हो।
त्यस्तै, बैठकले धनकुटामै मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको आन्तरिक मामिला मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए। यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको हो।
प्रदेश एकको यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय गरिएको कार्कीले बताए। तत्कालिन पूर्वाञ्चल बिकास क्षेत्रको राजधानीको रुपमा धनकुटा रहेको थियो।
संघीय सरकारले क्षेत्रीय प्रशासन कार्यालयहरु भंग गरे लगत्तै प्रदेश सरकारले पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाएको हो।
प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न नेकपा संसदीय दलको बैठक पनि बुधवारदेखि बोलाइएको छ।