वीरगञ्ज - संघीय समाजवादी फोरम नेपाल प्रदेश २ को अध्यक्षमा विजय यादव विजयी भएका छन्। हिजो सोमबार राति आएको निर्वाचन परिमाणअनुसार प्रदेश २ का आन्तरिक मामिला तथा अर्थमन्त्री यादवले ३७ मतले आफ्ना प्रतिस्पर्धी फोरम नेपालकी प्रभावशाली नेतृ रेणु यादवलाई हराएका हुन्।
विजय यादवले १८४ मत ल्याए भने रेणुले १४७ तथा अध्यक्षका अर्का प्रत्यासी अशोक यादवले ४३ मत पाएको निर्वाचन संयोजक जितेन्द्र यादवले बताए। जम्मा मतदाता संख्या ४०८ रहेकोमा ३८८ मत मात्र खसेको थियो। त्यसमध्ये ३४ मत बदर भएको थियो। प्रदेशको ५१ सदस्यीय समितिमध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो। बाँकी सदस्यहरूमा तीन जना उपाध्यक्ष, एक महासचिव, एक सचिव र २ जना कोषाध्यक्ष भने मनोनीत हुनेछन्।
किन हारिन् रेणु यादव ?
पार्टीको राष्ट्रिय उपाध्यक्षको रूपमा ख्याति कमाएकी रेणु यादवको हारलाई बडो रुचिपूर्ण लिइएको छ। उनी यसअघि प्रदेश २ को तदर्थ समितिको संयोजकको रूपमा रहे तापनि पार्टी तथा नेता कार्यकर्तालाई जति समय दिनुपथ्र्यो, त्यो नसकेकाले पराजित हुुनुपरेको फोरम नेपालकै नेताहरूले विश्लेषण गरेका छन्।
‘पार्टीले नेतृत्व तहमा परिवर्तन चाहेको थियो। साथै, काम नगर्नेलाई कसले रुचाउँछ आजको जमानामा ?,’ प्रदेश २ का प्रदेश सांसद प्रह्लाद गिरीले भने, ‘एक त विजय यादव प्रदेशको अर्थमन्त्री भएर लोकप्रिय नेताका रूपमा परिचित छन्, उता, पूर्वशिक्षा मन्त्री प्रदेश संयोजक भएर काठमाडौं बस्ने, प्रदेशमा ध्यान नदिने भएपछि जनताले हराए।’