काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन्।
शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता प्रधानले यस्तो बताएका हुन्। खुल्लामञ्चको सटर हटाउनको लागि प्रधानमन्त्री ओलीको साथै पत्रकार ऋषि धमलाको पनि महत्वपूर्ण भूमिका रहेको प्रधानको भनाई छ।
उनले भने, ‘म सम्पूर्ण मिडियालाई धन्यवाद भन्न चाहन्छु। खासगरी रिपोर्टर्स क्लब नेपाल, जसले यो विषयको पर्दाफास गरेको हो। यहीँबाट शुरु भएको अभियानले आज सार्थकता पाएको छ।’
वैशाखभित्रमा टुँडिखेलको अतिक्रमित जग्गा खालि नभएको भए आफूहरुले जेठ १५ गतेदेखि सशक्त आन्दोलन गर्ने योजना बुनिसकेको पनि प्रधानले स्मरण गराए। यद्यपि प्रधानमन्त्री ओलीले तत्कालै निर्देशन दिएर खुल्लामञ्चका सटर भत्काउन लगाएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई पून: धन्यवाद दिए।
त्यस्तै, उनले इतिहासमै मिडियाले छ्याप्छ्याप्ती गरेर समाचार छापेको पनि यही टुँडिखेलको जग्गा प्रकरण भएको जिकिर गरे। उनले भने, ‘सार्वजनिक सम्पत्ति जोगाउन सबै लाग्नुपर्छ। भूमाफीयाहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ।’ कुनै दल विशेषको नभई जनताको प्रतिनिधि भएर यस्तो गलत कार्यको विरोध गर्नुपर्ने उनको भनाई थियो। ‘भ्यु–टावर’बाट शुरु भएको माफियाकरण खुल्लामञ्चसम्म पुगेको नेता प्रधानको आरोप छ।