काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ललिता निवासको जग्गाको सबै कित्ताहरु किटान गरेर हिजोमात्रै रोक्का गरेको स्पष्ट पारेकी छन्।
शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो जानकारी गराएकी हुन्। उनले भनिन्, ‘हिजोमात्रै हामीले ललिता निवासभित्र पर्ने जग्गाको ९८ प्रतिशत कित्ताहरु किटान गरेका छौँ। सबै कित्ताहरु रोक्का गरेका छौँ। ७ दिनको समयसीमा राखेर हामीले कित्ता काट गर्ने काम सम्पन्न गरेका हौँ।’ विष्णु पौडेलको छोराको नाममा रहेको जग्गा पनि रोक्का रहेको उनको भनाई छ।
मन्त्री अर्यालले सरकारी जग्गा फिर्ता ल्याउनेगरि काम छिट्टै शुरु हुन बताइन्। उनले भनिन् ‘मन्त्रिपरिषद बैठकको निर्देशनबमोजिम शक्तिशाली आयोग गठनको तयारीमा हामी जुटिसकेका छाैँ।’
नेकपाकै महासचिव विष्णु पौडेलको समेत नाम मुछिएको ललिता निवासको जग्गा खरिद प्रकरणमा टिप्पणी गर्दै उनले भनिन्, ‘विष्णु पौडेलका छोरा नविन पौडेलसित जोडिएको आएको जग्गाको विषयमा हामीले अध्ययन गर्यौँ। उहाँले जुन जग्गा किन्नुभएको छ, त्यो मोही किटान भएर मोही साविक भएको, मोही कायम भएको जग्गा व्यक्तिमा हस्तान्तरण हुँदै छैटौँ व्यक्तिको रुपमा उहाँको छोराको नाममा हस्तान्तरण भएको छ।’
उनले भनिन्, ‘मान्छे जोसुकै होउन्, सरकारले नियमसंगत ढंगले आफ्नो काम गर्छ। विष्णु पौडेलको सवालमा बेसी अतिरञ्जित गरिएको छ।’ बालुवाटारको जग्गाको सवालमा साँढे ४ सय कित्ता किटान भैसकेको र सम्पूर्ण डकुमेन्ट जुटाउने काम भएको र हाललाई रोक्का गरिएको मन्त्री अर्यालको भनाई छ। उनले भनिन्, ‘अहिले सबै जग्गा रोक्का गरिएको छ। थप छानबिन गरेर हामी कानूनसम्मत ढंगले अघि बढ्छौँ।’
उक्त जग्गा विवादको सवालमा अदालतले फैसला गर्नुपर्ने पनि उनको भनाई छ। उनले भनिन्, ‘अख्तियार, पर्यटन मन्त्रालयले र संसदीय समितिले छानबिन गरेर प्रतिवेदन दिएको छ। अब अदालतले यसमा फैसला गर्नुपर्छ।’