काठमाडौंँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २८ केन्द्रीय र २२ प्रदेशका गरी ५० वटा विभागहरू नेतृत्वविहीन छन्। विधानमा पार्टीको सङ्गठन बलियो बनाउन विभागहरू गठन गर्ने उल्लेख छ। तर १३ औँ महाधिवेशन भएको तीन वर्ष बित्दासमेत गठन भएका छैनन्।
१३औँ महाधिवेशनपछि कांग्रेसले देशको संविधान र संरचनाअनुसार विधान संशोधन गरेको थियो। विधानमा केन्द्रमा २८ र प्रदेशमा २२ वटा विभाग गठन गर्न सकिने प्रावधान छ।
पार्टीभित्रको गुटगत स्वार्थले पार्टीलाई सदृढ, चुस्त दुरुस्त बनाउनेभन्दा पनि प्रायः नेताहरू आफ्नो गुटलाई बलियो बनाउनुपर्छ भन्ने दौडमा रहँदासम्म विभागहरू गठन गर्न त्यति सजिलो भने छैन।
पार्टीको सङ्गठन संरचनामा महत्वपूर्ण प्रभाव राख्ने २९ सदस्यीय कार्य सम्पादन समिति गठन गर्ने उद्देश्यले केन्द्रीय कार्यसमितिको बैठक बोलाइयो, संस्थापन पक्ष ६० र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष ४० प्रतिशत गर्ने गरी भागबण्डा पनि मिल्यो तर सो समितिसमेत अझै गठन हुन सकेको छैन ।
विधानअनुसार, केन्द्रीय विभागमा प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य रहनेछन् । केन्द्रीय कार्यसमितिका सदस्य विभागको प्रमुख रहने छन्। केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एकजना सचिव र सदस्यहरूको नियुक्ति गर्ने व्यवस्था छ। विभागका उपप्रमुख, सचिव, सदस्यमा मनोनयन हुन नेपाली काँग्रेसको क्रियाशील सदस्य हुनुपर्नेछ।
उपप्रमुख, सचिव र सदस्यहरूको मनोनयन गर्दा समावेशी सिद्धान्तलाई ध्यान दिइनेछ। विभागमा मनोनयन गर्दा पार्टी सदस्यहरूको रुचि, विज्ञता, अनुभव र पार्टीमा पु¥याएको योगदानलाई आधार बनाइने उल्लेख छ।
केन्द्रीय सदस्य गुरुराज घिमिरेले मुलुकभित्र रहेको सामाजिक विविधता, व्यावसायिक र पेशागत विविधतामा संलग्न भएकाहरुलाई समेत प्रतिनिधित्व गराउने उद्देश्यले विभाग गठन गर्ने व्यवस्था गरिएको बताए।
नेता घिमिरेले भने, ‘पार्टीका क्रियाशील नेताहरुलाई जिम्मेवारी दिएर पार्टीको प्रभाव बढाउने, कार्यकर्तालाई भूमिका दिने, पार्टीलाई सबै समुदायका बीचमा पु¥याउने, पार्टीको जगलाई सुदृढ बनाउने उद्देश्यले विभाग गठन गर्ने व्यवस्था गरिएको हो, विभाग गठन हुन धेरै ढिलो भयो तर पनि अब गठन भए राम्रै हुन्छ।’
२०७२ फागुन २०–२३ सम्म काठमाडौँमा सम्पन्न १३औँ महाधिवेशनमा शेरबहादुर देउवा सभापति निर्वाचित भएका थिए। उनकै नेतृत्वमा स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भयो र पार्टीले पराजय पनि भोग्नु प¥यो। विपक्षमा पुगेर शीर्ष नेतादेखि कार्यकर्तासम्म फुर्सदमा रहे पनि काँग्रेसले संगठन विभागसमेत गठन सकेको छैन। यो समाचार गोरखापत्रले छापेको छ।