मोरङ - गृहमन्त्री राम बहादुर थापाले सुरक्षा अवस्था अझै मजबुत बनाउनु पर्ने बताएका छन्।
उनकै प्रमुख आतिथ्यमा मोरङको विराटनगरमा आयोजित १ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन्। उनले भने, राम्रो कामका लागि सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न गृह मन्त्रालय सदैव तत्पर छ।
गोष्ठी समापनका अवसरमा गृहमन्त्री थापाले शान्ति सुरक्षा सम्बन्धि समीक्षाको दृष्टिकोणले गोष्ठी महत्वपूर्ण रहेको चर्चा गर्दै गोष्ठीका छलफल र निचोडले सुरक्षा सम्बन्धि आवश्यक नीति तय गर्न सहज हुने बताए।
उक्त अवसरमा गृहसचिव प्रेम कुमार राईले शान्ति सुरक्षा, विपद व्यवस्थापन लगायतका काम सन्तोषजनक भइरहेको उल्लेख गर्दै यसलाई अझ व्यवस्थित र मजबुत बनाउनुपर्ने बताए। शान्ति सुरक्षालाई आधारभूत रुपमा सुधार गर्न गोष्ठी फलदायी हुने विश्वास उनले व्यक्त गरे।
नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप बुधबारदेखि उक्त शुरु भएको गोष्ठीको बिहीबार समापन गरियो।