काठमाडौँ – विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ।
बिहीवार रिपोर्टर्स क्लब नेपालमा धरहरा पुनः निर्माणको कार्य प्रगति तथा धरहरा सम्बत ००५ को बारेमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहित्यकार तथा ‘म बनाउँछु मेरो धरहरा’ का अभियन्ता ध्रुब गजुरेलले धरहरा पुनः निर्माणको लागि भएका प्रयासहरुको बारेमा प्रकाश पारे।
आफुले साहित्य लेखनको माध्ययमबाट धरहरा निर्माणको लागि करोडौ रकम संकलन गरि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको माध्ययमबाट सरकारलाई बुझाईसकेको पनि उनले जानकारी दिए। निर्माणाधिन धरहरा भुकम्प प्रतिरोधात्मक र सुरक्षित बन्नुपर्ने भन्दै उनले प्रकाशनमा ल्याएका पुस्तक ‘इतिहासमा २०७२’ र ‘ऋतु’ बाट संकलन भएको सम्पुर्ण रकम पनि धरहरा निर्माणमा लगाईने बताए।
धरहरा निर्माणकै लागि आफुहरुले ‘हनुमानको नेपाल यात्रा’ र धरहरा बनाउने देउसी कार्यक्रमको भिडियोबाट पनि केही रकम संकलन गरेको उनको भनाई छ। उनले निर्धारित मितिमै धरहरा निर्माण सम्पन्न गर्ने पनि बताए।
सत्तारुढ दल नेकपाका नेता एवम् प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले विनाशनै विकासको जननी भएका कारण अब बन्ने धरहरा नमुनाकै रुपमा निर्माण गरिनुपर्ने बताए। कार्यक्रममा डा. नारायणहरि गजुरेलले २०७२ सालको बिनासकारी भूकम्पको समयमा नेपालीहरु पीडामा रहेको बेला ध्रुब गजुरेलले शोकलाई शक्तिमा बदल्ने प्रणस्वरुप धरहरा निर्माणको अभियानमा लाग्नुले धरहरा निर्माण कार्य अघि बढेको स्पष्ट पारे।
नयाँ सम्बतको घोषणा र साहित्यको माध्ययमबाट धरहरा सम्बतलाई निरन्तरता दिईराख्न आवश्यक रहेको पनि उनले बताए। साहस बोकेर सम्पदाको निर्माणमा लागेको भन्दै उनले बिहिबार सार्वजनिक गरिएको ‘धरहरा सम्बत भित्ते पात्रो’ ले ०७२ सालमा घटेका घट्नाहरुको बारेमा जानकारी दिन खोजेको स्पष्ट पारे।
त्यस्तै कार्यक्रममा बोल्दै धरहरा निर्माण कार्यमा लागेका रमन कन्ट्रक्सनका प्रोप्राईटर रमन महतोले निर्माणाधिन धरहराको कार्य प्रगति र आगामी ओजनाको बारेमा जानकारी गराए। आफु सरकारको ‘मेरो धरहरा, म बनाउँछु’ भन्ने अभियानमा लागेको बताउदै उनले सरकारसंगको आधिकारिक सम्झौतापश्चात् धरहरा निर्माण कार्यको प्रगति रहेको विश्वास दिलाए।
प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुसंगको छलफल सम्पन्न भईसकेको र वरिपरिको सडकको बारेमा पनि छलफलकै माध्यमबाट समस्याको सामाधान निस्किसकेको उनले बताए। महतोले आगामी दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने आफुहरुको लक्ष्य रहेको र निर्धारित मितिमै लक्ष्य पूरा हुने दावी गरे। करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको योजनाअनुरुप अबको दुई तीन महिनाभित्र हाल रहँदै आएको गौशारा हुलाकको कार्यालय पनि स्थानान्तरण भईसक्ने भएका कारण आफुहरुलाई थप मार्गप्रशस्त हुने उनको भनाई छ।
प्रस्तावित २२ तले भवनको फाउन्डेसनको कार्य सम्पन्न भईसकेको पनि उनले जानकारी गराए। अबको धरहरा जनसंख्याको बृद्धिलाई मध्येनजर गरेर निर्माण गरिने भएका कारणपनि यसमा अत्याधुनिक सुविधामा जोड दिईने उनको भनाई छ।
कुल तीन अर्ब ४५ करोडको लागतमा निर्माण हुने आयोजनालाई अबको दुई वर्षमा सम्पन्न गरिसक्ने आफ्नो लक्ष्य रहेको उनले जानकारी गराए। करिव दुई हजार वर्षसम्म टिक्न सक्ने उक्त टावरले ९ रेक्टर सम्मको भुकम्पको कम्पन सहन सक्ने उनको दाबी रहेको छ।