काठमाडौँ – सत्य निरुपण तथा मेलमिलाप आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। द्वन्द्वकालीन न्याय निरुपणको जिम्मेवारी पाएको आयोगले हालसम्म गरेका कामहरुको विवरणसहितको प्रतिवेदन बुधबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाललाई बुझाएको हो।
हाल आयोग पदाधिकारीविहिन रहेको छ। सरकारले आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न पूर्व प्रधानन्यायाधिश ओमप्रकाश मिश्रको संयोजकत्वमा सिफारिस समितिनै गठन गरेको छ। आयोगको प्रतिवेदन निमित्त सचिव गोपिचन्द्र भट्टराईले चैत्र मसान्तमा आयोगको पदाधिकारीको म्याद सकिनु अघि नै तयार पारिएको प्रतिवेदन सरकारलाई बुझाइएको जानकारी दिए।
उनका अनुसार आयोगको प्रतिवेदनमा सत्य निरुपण तथा मेलमिलापका लागि परेका उजुरीहरुको विवरण पनि उल्लेख गरिएको छ।प्रतिवेदन बुझ्दै मन्त्री ढकालले आयोगको काम कार्वाहीलाई प्रभावकारी बनाउन र त्यहाँ रहेका सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कागजातहरुको सुरक्षाको उचित व्यवस्था गर्न आयोगका कर्मचारीहरुलाई निर्देशन दिए।