काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको नवनिर्मित सात तले भवनको उद्घाटन गरेकी छन्। नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले मंगलबार एक कार्यक्रमका बीच २०७२ सालको विनाशकारी भुकम्पमा क्षतिग्रस्त भएको जङ्गी अड्डा भवनको पुनर्निर्माणपश्चात उद्घाटन गरेकी हुन्।

भवन २०७३ जेष्ठ २४ गतेबाट निर्माण कार्य शुरु भएको थियो। क्यूविकलसहित ४ सय ३० कोठाहरु, विभिन्न प्रयोजनका ३१ सभाहलहरु रहेको यस भवनबाट नेपाली सेनाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयसहित ४७ वटा कार्यालयहरु सञ्चालनमा रहनेछन्। आवश्यकता अनुसार छतमा हेलिकोप्टरसमेत अवतरण गर्न मिल्ने गरी निर्माण गरिएको यस भवनका कार्यालयहरुमा एक हजार जनशक्ति कार्यरत रहने क्षमता रहेको छ।
२०१६ सालमा हाल सैनिक मुख्यालय रहेको स्थानमा जङ्गी अड्डा भवनको निर्माण भएको थियो। भुकम्पबाट नेपाली सेनाका जङ्गी अड्डा भवनलगायत १ हजार १ सय ९ भौतिक संरचना क्षति भएका थिए। जसमध्ये आंशिक रुपमा क्षति भएका ६ सय ९७ भौतिक संरचनाहरुको प्रवलीकरण भएको, पूर्णरुपमा क्षति भएका ४ सय १२ भवनमध्ये उच्च प्राथमिकतामा रहेका ५७ वटा नयाँ निर्माण सम्पन्न भइसकेका छन्।
१६ वटा भौतिक संरचना निर्माणाधीन अवस्थामा रहेको र अन्य बाँकी भौतिक संरचनाहरु प्राथमिकताको आधारमा आगामी वर्ष निर्माण गर्ने सेनाको योजना रहेको छ।
उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्ति उपस्थित कार्यक्रममा प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँणले भवन निर्माणसम्बन्धी जानकारी गराएपछि राष्ट्रपतिले भवनको निरीक्षणसमेत गरेकी थिइन्।