काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा शीर्ष नेताबीच ७७ जिल्ला अध्यक्ष र सचिवको भागबन्डा टुंगिएको छ। भागबन्डामा बढी फाइदा नेता माधव नेपाल समूहलाई भएको छ।
पूर्वएमालेको भागमा परेको ४४ अध्यक्षमा ओली समूहका २५ र नेपाल समूहका १५ जना छन्। यस्तै, ३३ सचिवमा ओलीनिकट आठ मात्रै रहँदा नेपालनिकट २२ जना छन्।
दुवै पदको हिसाबमा ओली–नेपालको हाराहारी सन्तुलन छ। चार अध्यक्ष र तीन सचिव भने तटस्थ छन् । यसअघि प्रदेश पदाधिकारी चयनमा भने नेपाल पक्षको सहभागिता कमजोर थियो।
पूर्वमाओवादीतर्फ ३३ अध्यक्ष र ४४ सचिवमा अध्यक्ष प्रचण्ड पक्षधर क्रमशः २७ र ३५, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’निकट पाँच र नौजना छन्। यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठनिकट अध्यक्ष एकजना परे पनि सचिवमा कोही समेटिएका छैनन् ।
नेकपाले ७०औँ स्थापना दिवसका अवसरमा सोमबार प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा केन्द्रीय सचिवालयले पारित गरेको ७७ जिल्ला अध्यक्ष र सचिवहरूको सूची नै सार्वजनिक गरेको हो।
जिल्ला नेतृत्व टुंग्याएसँगै ११ महिनादेखि अल्झिएको नेकपाको एकीकरणको मूल काम टुंगिएको नेताहरूले जनाएका छन् । पोलिटब्युरो गठन, केन्द्रीय नेताहरूको कार्यविभाजन, जनसंगठनको एकीकरणसहितका केही बाँकी काम केही दिनभित्रै टुंग्याइने शीर्ष नेताहरूले घोषणा गरेका छन्।
अध्यक्ष केपी ओलीले मुलुकलाई समृद्धितर्फ डोर्याउने उद्देश्यसाथ सुविचार गरी पार्टी एकीकरण गरिएको भन्दै विशेष योगदानका निम्ति अर्का अध्यक्ष प्रचण्डलाई धन्यवाद दिए । ‘हामी भवितव्यले यस ठाउँमा आइपुगेका होइनौँ, भवितव्यबाटै एकता भएको पनि होइन,’ ओलीले भने, ‘पार्टी एकताका निम्ति म प्रचण्डजीलाई विशेष धन्यवाद दिन चाहन्छु, उहाँले लचिलो बनेर ठूलो छलाङका लागि आँट नगरेको भए एकता सम्पन्न हुँदैनथ्यो ।’
प्रचण्डले जिल्ला एकीकरणसँगै फलामे ढोका पार भएकाले बाँकी काम सहजै सम्पन्न हुने स्थिति निर्माण भएको बताए । ‘एकता घोषणाको तीन महिनाभित्रै एकीकरण प्रक्रिया टुंग्याउनुपथ्र्यो, तर ढिलै भए पनि मिसन पूरा गरेका छौँ, जिल्ला कमिटीको एकीकरणको गाँठो फुकाएर फलामेढोका पार गरेका छौँ,’ प्रचण्डले कार्यक्रममा भने, ‘मुख्य गाँठो फुकेपछि अरू सजिलै फुक्ने स्थितिमा पुगेको छ ।’ प्रचण्डले एकताअगाडिकै अवस्थालाई आत्मसात् गर्दै दुवैतर्फका जिम्मेवार नेता–कार्यकर्तालाई जिम्मेवारी दिने सिद्धान्तअनुसार जिल्ला एकीकरणलाई निष्कर्षमा पुर्याइएको बताए ।
यसअघि तयार गरिएको सूचीमा माधव नेपाल समूहका लागि जिल्ला अध्यक्षमा दोलखा र सिन्धुपाल्चोक मात्र छुट्याइएका थिए । तर, जिल्लाका पूर्वपार्टी प्रमुखहरू नै अध्यक्ष वा सचिव हुने विधि तय भएपछि नेपालपक्षबाट १५ अध्यक्ष र २२ सचिव भएका छन् । ओली पक्षले २५ अध्यक्ष र आठ सचिव पाएको छ । पूर्वमाओवादीले ३३ जिल्लामा अध्यक्ष र ४४ मा सचिव पद प्राप्त गरेको छ ।
ओली पक्ष २५ अध्यक्ष, ८ सचिव
नेपाल पक्ष १५ अध्यक्ष, २२ सचिव
पूर्वमाओवादी पक्ष ३३ अध्यक्ष, ४४ सचिव
तटस्थ ४ अध्यक्ष, ३ सचिव
आठ केन्द्रीय सदस्य सचिवमा घटुवा
पार्टी एकीकरणअघि साबिक कमिटीको नेतृत्व गरेकाहरूलाई नै अध्यक्ष र सचिव बनाउने मापदण्डका आधारमा केन्द्रीय सदस्य रहेका आठजना नेताले जिल्ला सचिवको जिम्मेवारी पाएका छन् । पूर्वमाओवादी समूहबाट नेकपाका केन्द्रीय सदस्यहरू गोपी अछामी–मोरङ, श्रवण यादव–धनुषा, डाचाराज वाग्ले–सर्लाही, युवराज भट्टराई–रौतहट, दावा तामाङ–सिन्धुपाल्चोक, हिमाल शर्मा–काठमाडौं, शालिकराम जम्मरकट्टेल–धादिङ र दधिराम न्यौपाने–रुपन्देही सचिव बनेका छन् । त्यस्तै, थुप्रै सांसद र स्थानीय तहको कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेकाहरूले पनि जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छन् । यो समाचार नयाँ पत्रिकाले छापेको छ।