काठमाडौं - एकता घोषणा गरे पनि ११ महिनादेखि एकता प्रक्रियालाई मुर्त रूप दिन नसकेको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सोमबार जिल्ला समितिका अध्यक्ष र सचिवको टुंगो लगाउँदै एक कदम अघि बढेको छ। २००६ सालमा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेको सन्दर्भ पारेर नेकपाले उक्त घोषणा कार्यक्रम सम्पन्न गर्यो।
कार्यक्रममा नेकपाका दुवै अध्यक्षले आफ्नो पार्टी परिवर्तनको संवाहक भएको दावी गर्न कुनै कसर बाँकी राखेनन्। तर नेकपाले सार्वजनिक गरेको सबै जिल्लाका अध्यक्ष र सचिवको सूची हेर्दा उक्त पार्टीमा पुरूष र ब्राह्मण–क्षत्रीकै वर्चस्व देखिन्छ।
७७ वटा जिल्लाका अध्यक्षमध्ये जम्मा तीनजनामात्र महिला छन्। मकवानपुरकी मनु सिग्देल, काभ्रेपलाञ्चोककी रूकु चौलागाई र लमजुङकी मधुमाया अधिकारी ७७ मध्ये पर्न सफल तीन महिला जिल्ला अध्यक्ष हुन्।
त्यस्तै ७७ वटा जिल्ला सचिवमध्ये केवल दुई जना मात्र महिला सचिवमा चयन भएका छन्। ईलामकी सोममाया राई र नवलपरासी पश्चिमकी तुल्सी पासी सचिवमा छनौट भएका दुई महिला हुन्।
जातिय हिसाबमा पनि नेकपामा ब्राह्मण क्षत्रीकै दबदबा छ। अध्यक्षतर्फ ५० र सचिवतर्फ ४३ जना ब्राह्मण–क्षत्री समुदायबाट छनौट भएका छन्।
मधेसी समुदायबाट भने अध्यक्षमा ६ जना र सचिवमा ४ जना मात्र चयन भएका छन्। दलित, गुरूङ, थारू र थकाली समुदायबाट अध्यक्षमा एक–एकजना मात्रै चयन भएका छन्। सचिव तर्फ भने दलितबाट ५ जना चयन भएका छन्। यो समाचार नयाँ पत्रिका दैनिकले छापेको छ।