नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको छ। प्रतिबन्धपछि नेपाल कम्युनिष्ट पार्टी अझ आक्रामक भएको छ। नेपाल बन्दसँगै बम विष्फोट गराएर सरकारलाई तर्साउने कोसिस गरेको देखिन्छ।
सरकारले केही केन्द्रीय नेतासहित विभिन्न जिल्लाका कार्यकर्ताहरु पक्राउ गरेर कारवाही गरेको सरकारविरुद्ध प्रतिकारको रणनीति लिने नेकपाका महासचिव विप्लवले चेतावनी दिएका छन्। अब के गर्छ त प्रतिबन्धमा परेको नेकपाले? एकीकृत जनक्रान्ति कस्तो हुने जस्ता विषयमा विप्लव नेतृत्वको नेकपाका नेता नरबहादुर कार्कीसँग नेपाली पब्लिकले गरेको कुराकानी:
तपाईंहरूको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको छ। जनता र सञ्चारमाध्यमले चाहिँ के भनेर सम्बोधन गर्ने?
–हाम्रो पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हो। आमजनताले हाम्रो पार्टीलाई ‘विप्लव माओवादी’ भनेर पनि सम्बोधन गर्ने गरेका छन्।
सरकारी प्रतिबन्धलाई कसरी लिनुभएको छ?
–राजनीतिक अधिकारका लागि जीवन कुर्वानी गर्नुभएका शहीदका अपमान स्वरूप हाम्रो पार्टीमाथि सरकारले प्रतिबन्धको घोषणा गरेको छ। राजनीतिक अधिकार, शासन व्यवस्थाको विकल्प खोज्ने, राजनीतिक रूपमा संगठित हुन पाउने विश्वव्यापी मान्यता छ। यसका विरुद्धमा प्रतिबन्ध हो।

प्रतिबन्ध आश्चर्यचकित र अनौठो होइन। किनभन्दा ओली सरकार जनताको पक्षमा काम गरिरहेको छैन। यो सरकार कुन विचार, सिद्धान्त र व्यवहारका आधारमा चलिरहेको छ? यो त फासिष्ट हो, तानाशाहको नयाँ प्रयोग हो। दलाल संसदीय व्यवस्थाको उपयोग गर्दै दलाल अर्थतन्त्रका केही नेपाली र विदेशी कर्पोरेटहरूको इच्छा र चाहनालाई वर्तमान सरकारले पूरा गरिरहेको छ। हाम्रो पार्टी यसको विरुद्धमा छ।
प्रचण्ड प्रधानमन्त्री भएका बेला तपाईंको पार्टीले १० बुँदे माग पेश गरेको थियो? पुनः स्मरण गराइदिनुस् न?
– जनजीविकाका सन्दर्भमा हाम्रो पार्टीले १० बुँदे माग पेश गरेको थियो। भ्रष्टाचार, महँगी र मूल्यवृद्धिको अन्त्य हुनुपर्छ। अराजकताको अन्त्य, जनप्रतिनिधिको नाममा राज्य कोषको बह्मलूट रोक्नुपर्छ। नदीनालाहरू बेच्न बन्द गर्नुपर्छ, युवालाई रोजगार दिनुपर्छ, तरुणहरूको देश नेपाल हो, तर ६० लाख युवा विश्वका देशहरूमा सस्तो श्रम बेचिरहेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रको निजीकरण बन्द हुनुपर्छ, विद्यमान विभेदकारी नीतिको अन्त्य गर्नुपर्छ भन्ने जस्ता हाम्रा माग थिए।
समाजवादको बोर्ड झुण्ड्याएर मात्रै र संविधान समाजवाद उन्मुख छ भन्दैमा यो व्यवस्थाले समाजको अवस्थालाई पूर्ति हुनेगरी उत्तर दिँदैन। एनसेल काण्डलाई नै हेर्नुस्, खेतीयोग्य जमिनहरू कित्ताकाट गर्ने काम व्याप्त छ। हुँदाहुँदा बालुवाटारको जग्गा विक्री गर्ने काम भयो। यस्ता गलत क्रियाकलापहरू बन्द हुनुपर्छ भन्ने कुरा हाम्रो पार्टीको मात्र माग होइन, यो त आम जनताको आवाज हो।
माओवादी जनयुद्धपछि प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभयो, त्यतिबेला तपाईंहरूले उठाएका कुन–कुन माग पूरा भए, के बाँकी रह्यो र फेरि एकीकृत क्रान्ति गर्ने भन्दै हुनुहुन्छ?
–त्यो क्रान्ति कुनै नेतालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको थिएन। तर, परिणाम के आयो भन्दा जनताका सवालहरू जहाँ थिए, त्यहीँ रहे र खासगरी केही नेताहरूका सवालहरू मात्रै उत्तरित भए। संसदीय व्यवस्थाको उपभोग गर्ने मौका प्रचण्ड, बाबुरामलाई मिल्यो। तर, जनताका लागि हुनुपर्ने जे थियो भएन। नेतृत्वबाट धोका भयो।

आमूल रूपान्तरणका लागि नेपाली जनताले क्रान्ति गरेका थिए। त्यसैले केही नेताहरूका लागि हामी सति जान सक्दैनौँ। कृषकका समस्या जीवित छन्। शिक्षक र कर्मचारीका माग जीवित छन्। जनताका अधिकार सुरक्षित छैनन्। क्रान्ति बाँकी छ । त्यसकारण हामीले एकीकृत जनक्रान्ति आवश्यक छ भनेका हौं।
एकीकृत जनक्रान्ति जनयुद्धकै निरन्तरता हो?
–आजका दिनमा सबैभन्दा ठूलो भ्रम यसैमा छ। जनयुद्धको विरासत धान्ने जिम्मा हाम्रो पार्टी नेकपालाई छ। एउटा अवसरवादी समूह एमालेमा विलय भयो। हामीले भनेको एकीकृत क्रान्ति नवीन छ, नयाँ छ, मौलिक छ। झट्ट हेर्दा जनयुद्ध २ अर्थात् जनयुद्धकै निरन्तरता हो भन्ने देखिन्छ। त्यो स्वाभाविक छ। हाम्रो लडाइँ १ प्रतिशत मानिसका विरुद्धमा छ।
हामीले मात्रै भनेको कुरा हो र? विश्वको सर्वेक्षण भनेको कुरा हो। ९९ प्रतिशत पूँजी १ प्रतिशत मानिसको हातमा छ। ९९ प्रतिशत मानिसलाई उपयुक्त बाँच्ने अवस्था छैन। यो स्थितिको अन्त्य गर्नका लागि तिनै ९९ प्रतिशत मानिसको साझा विद्रोहलाई हामीले एकीकृत जनक्रान्ति भनेका हौँ। यसलाई जनयुद्धको अर्को रूप भन्न अलि मिल्दैन।
कस्तो क्रान्ति गर्नुहुन्छ?
–सरकारले युद्धमा जबर्जस्ती धकेल्ने काम गरेको छ। देशमा बेलगाम भ्रष्टाचार बढिरहेको छ। भूमाफियाहरूको बेगलगाम बिगबिगी छ। राजनीतिक विकृति बढ्दो छ। राजनीतिक नेता आफ्ना सुविधाका लागि जेसुकै कार्य गर्न पनि तयार छन्। जनताको धारोमा पानी छैन। बाटो छैन । बिजुली छैन । ती सबै विकास गर्न समय लाग्ने र नियमहरूले रोक्ने तर विडम्बना ! सत्तामा रहेका मानिसहरूको भलाइका लागि कुनै पनि कानूनले रोक्दैन। बेलगाम मनोमानी चल्छ।

कर्पोरेट राजनीतिको विकास भइरहेको छ। राजनीतिक संस्कृति शून्यमा छ। केही धनाड्यहरूलाई झन् धनी बनाउनका लागि सम्पूर्ण राज्यसंयन्त्र लागिपरेका छन्। आशीर्वादमा आयोगहरू चल्छन्। उनीहरूले गलत क्रियाकलाप गर्नेहरूमाथि के गर्न सक्छन्? यसका विरुद्धमा के हुन्छ? आन्दोलन हुन्छ। आज भइरहेको छ।
एकीकृत जनक्रान्तिको स्वरूप चाहिँ कस्तो हुन्छ?
–हिंसात्मक हुँदैन। हाम्रो पार्टीको कुनै पनि योजना र कार्यक्रम हिंसात्मक छैनन्। तर, राज्यले राजनीतिक अधिकार उपभोग गर्नबाट वञ्चित गर्छ भने त्यो समयमा सम्पूर्ण उत्पीडितले ‘गर या मर’को आन्दोलन गर्छन्। वर्तमान सत्ताको चरित्रका विरुद्धमा जतिसक्यो चाँडो गोलबद्ध हुनुपर्छ। यो क्रान्ति शान्तिपूर्ण हुन्छ। तर, गाउँमा प्रहरी पठाएर महिला र बालबालिकामाथि आक्रमण तथा सर्वसाधारणमाथि बन्दुकको भरमा आतंक सिर्जना गर्ने कार्य भयो भने हाम्रो पार्टीले हेरेर बस्दैन।
दमन नरोके प्रतिकार हुन्छ भन्नुभएको छ, यो कस्तो प्रतिकार हो?
–नेपाली जनताका कानले नेकपाको शक्ति के हो? कहाँ के गर्न सक्छ? भनेर सुन्ने प्रतीक्षा गरिरहेका छन्। कोही हाम्रो क्रान्तिका नाममा भ्रमको खेती पनि गरिरहेका छन्। कोही हाम्रो पार्टीको नाममा गलत क्रियाकलाप गर्ने मौका खोजिरहेका छन्। सबैभन्दा बढी शान्तिको आवश्यकता जनतालाई छ। जिम्मेवार जत्था भएका कारण नेपाल कम्युनिष्ट पार्टीले जनताको अपेक्षा र अनुरोधलाई स्वीकार्दै दलाल पूँजीवादका विरुद्धको आन्दोलनको नेतृत्व लिन्छ। कोसँग कति शक्ति छ? त्यो सबैलाई थाह छ।

आजको दिनमा बन्दुकको भाषा बोल्ने समय होइन। मानव चेतनाले काम गर्न छोड्छ भने, नैतिकताले काम गर्न छोड्छ भने बन्दुक त एउटा औजार न हो। हामी विचार, मुद्दा र आन्दोलनको स्पष्ट खाका तयार गरेर मैदानमा आएका मानिस हौँ। त्यसैले म जिम्मेवारी र सम्मानपूर्वक भन्छु, प्रहरीले बढ्ता उफ्रिनुपर्ने, हामीमाथि दमन गर्नुपर्ने कुनै कारण छैन। सत्तामा रहेकाहरूको चरित्र प्रहरीले पनि जानेकै छ, आर्मीले पनि जानेकै छ। खासमा सत्ता भनेको जनता हो। सत्ता चलाउनेहरूको चरित्र बुझिसकेपछि सचेत वर्ग सडकमा आउँछ र सत्ता आफै ढल्छ।
नेपाल कम्युनिष्ट पार्टीको वैचारिकता धरातल के हो?
–मार्क्सवाद, लेनिनवाद–माओवाद। यसलाई रचनात्मक बनाउने गरी हामी अगाडि बढिरहेका छौँ। सार संग्रहवाद, जडतावाद केही हुँदैन। केवल माक्र्सवादलाई मौलिक रूपमा रचनात्मक बनाउनेमा हामी एकीकृत भएका छौँ। व्यवस्थाको बोर्ड फेरियो तर अवस्था उस्तै रह्यो। आज विश्वका कुनाकन्दरामा पुगेका नेपालीले गरिरहेको श्रमको आधा श्रम देशमा पोख्ने हो भने देश गरिब रहन्छ र ! देशमा लगानीको नाममा विदेशीलाई राज गर्न दिने। विदेशी सेनालाई भित्र्याउने काम भइरहेको छ। नेटोले कुन देशमा शान्ति दिएको छ। यहाँ सुरक्षाकर्मी परिचालन गरेर जनता तर्साउने काम बन्द गर्नुपर्छ।
प्रचण्ड–बादल र विप्लवबीचको मनमुटावको उपज नै हो त एकीकृत जनक्रान्ति?
–राजनीतिक घटनाक्रमले देखाएका कुराहरूले प्रचण्ड र बादल विचारमा स्खलन भएका हुन् भन्ने कुरा प्रमाणित गर्छ। हाम्रो पार्टीका महासचिवका बारेमा भ्रम रचेर आफूहरू सच्चा बन्न खोजेको देखिन्छ। त्यो उहाँहरूको अर्को ठूलो भूल हो।
सरकारले तपाईको पार्टीलाई ‘वार्तामा आए स्वागत, नत्र एक्सन’ भनेको छ नि?
–हाम्रो पार्टीलाई औपचारिक रूपमा वार्ताका लागि कुनै पहल गरिएको छैन।
पार्टीको कुनै नेता वार्ताका लागि छलफलमा छन् कि?
–हामी कुनै एक खण्ड जमिन मागिरहेका मानिस होइनौँ, जनताको जीवन बदल्न र राष्ट्रको रक्षा गर्नका लागि हिँडेका मानिस हौँ। हामीमाथिको प्रतिबन्धलाई सरकारले ‘फेस सेभिङ’का रूपमा लिएर आत्मालोचना गर्नुपर्ने हुन्छ। वार्ताका लागि सरकार नै अग्रसर हुनुपर्छ। त्यो अधिकार सरकारलाई छ। सम्भावित हिंसा अन्त्य गर्नुपर्ने पहिलो जिम्मेवारी राज्यको हो। राज्यले जे गरिरहेको छ। अरू मानव अधिकारवादी संस्थाहरू मौन छन्। राष्ट्रभक्ति र समाजलाई माथि उठाउनु पर्छ भन्ने नेपालीबाहेक अरू सब मौन छन्। प्रधानमन्त्री, मन्त्रीहरू मनलाग्दी बोल्ने तर अरू सबै चुप बस्ने अवस्था छ। यो मौनता के लागि हुँदैछ?

सरकारले वार्तामा बोलायो भने कुन शर्तमा वार्ता हुन्छ?
–हाम्रा कुनै शर्त छैनन्। सबै जनताका माग हुन्। हाम्रा केही साथीहरूलाई विनाकारण जेलमा कोचिएको छ। यसकारण हामी डराएर हामीमाथि कृपा दया गर्नुप¥यो भनेर वार्तामा जाँदैनौँ। नेपाली जनताको जीवनमाथिको शोषण, सीमा मिचिएका छन्, बेरोजगारीको अन्त्य, दलालीकरणको अन्त्य, दलाल पूँजीवादको अन्त्य यी हाम्रो पार्टीका निजी मागहरू होइनन्।
अरू नेताहरूलाई पक्राउ गरिरहेको अवस्थामा तपाईं खुला हिँडिरहनुभएको छ नि?
–१२–१५ लाख रुपैयाँ मासिक तलब हुने राम्रै जागिर छोडेर यो आन्दोलनमा लागेको मानिस हुँ म। विदेश छोडेर देशमा आएको मानिस हुँ। म कहाँ जाऊँ? अमेरिकामा गएर बसुँ? मेरो मुद्दा यहाँ छन्। मेरो परिवार, मेरो जीवनका लागि मात्रै सोचेर क्रान्तिमा लागेको मानिस हुँ र? के भित्र के बाहिर? केही मतलव छैन। मेरो हृदयमा परिवर्तन तरंगित भयो। देशमा लाखौँ मानिसलाई पढाएको छु। सांसद बन्नुभएको छ। जनप्रतिनिधि हुनुहुन्छ।
नेकपाले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
–हामीले भन्दै आएको कुरा दलाल पूँजीवादी व्यवस्थाको साटो वैज्ञानिक समाजवादी व्यवस्थाको परिकल्पना हो। एक्सपोर्टहरूको कन्ट्रीका रूपमा विकास गर्ने हाम्रो शासकीय परिकल्पना हो। वर्तमान सत्ताभन्दा हजारौँ गुणा राम्रो हुन्छ। जनताद्वारा चुनिएका मानिसहरूले सरकार चलाउने व्यवस्था हुन्छ। संसदीय शासन व्यवस्थाको अन्त्य नै हाम्रो शासनको परिकल्पना हो। जहाँ आफ्नो र आफ्ना वरिपरिका मानिसलाई संरक्षण हुँदैन।