प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महाधिवेशनको तयारीमा जुटेको छ। यद्यपि, अहिले नै मिति घोषणा भने भएको छैन। तर पनि नेता तथा कार्यकर्तालाई भने महाधिवेशनको रौनकले छोइसकेको छ। शीर्ष नेतृत्व जिल्ला दौडाहमा छन्। उक्त महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले गरेका कामको समीक्षा पनि भइरहेका छन्। महाधिवेशनको रौनक बढ्दै जाँदा वर्तमान नेतृत्व परिवर्तनदेखि युवाले पार्टीको नेतृत्व सम्हाल्नुपर्ने माग पनि उठ्दै आएका छन्। वर्तमान नेतृत्वको कामकारवाहीदेखि नयाँ नेतृत्व कस्तो चुनिनुपर्ला भन्ने लगायतका विषयमा कांग्रेस युवा नेत्री रीता शाहीसँग नेपाली पब्लिकका दिनेश ठकुल्लाले गरेकाे कुराकानी:
नेपाली कांग्रेसको वर्तमान नेतृत्वको कामप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ?
– शुरुमा कुनै पनि व्यक्ति पदमा नपुग्दा उसले केही गर्छ कि भन्ने आशा र भरोशा सबैमा हुन्छ। देश, जनता, पार्टी र कार्यकर्ताको पक्षमा काम गरोस् भन्ने चाहना हुन्छ सबैको। तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने आशा गरेजति गर्न सक्नुभएन। जति गर्नुपर्थ्याे त्यति गर्न नसकेकै हो उहाँले। देश, जनता र पार्टीको मात्रै हैन, समग्र कांग्रेसकै नेता बन्न सक्नुभएन। उहाँ कांग्रेसमा पनि केवल एक गुटको नेता बन्नुभयो। त्यसैले समग्रमा भन्दा उहाँको कार्यकाल विवादरहित बन्न सकेन। तर, उहाँको कार्यकालमा केही भएन भन्न चाहिँ मिल्दैन। संविधान निर्माणपछि संघीयताको कार्यान्वयन स्वरूप गतवर्ष स्थानीय, प्रदेश हुँदै केन्द्रको चुनाव गराउनु उहाँको महत्त्वपूर्ण कार्य हो।
पार्टी नेतृत्वको विरोध किन गर्न सक्दैन अर्को समूह? अनि कहिलेसम्म चुप लागेर बस्छ कांग्रेसको युवा नेतृत्व?
– हामीले विरोध नै नगरेको चाहिँ हैन। पार्टीभित्र विरोध र असन्तुष्टिका आवाजहरू बेलाबेलामा आइरहन्छन्। ती आवाज र असन्तुष्टि नसुनिएका हुन्। हाम्रा मागलाई पार्टी नेतृत्वले बेवास्ता गर्दै आएको छ। तर, हामीले विरोधका लागि पार्टी नेतृत्वको विरोध गरेका हैनाैँ। पार्टी नेतृत्व सच्चिएर जाओस् भन्ने चाहना हो।
नेपाली कांग्रेसलाई हिजो बीपी, गणेशमान, गिरिजाप्रसाद लगायतले चलाएको हो। उहाँहरूकै कारण पार्टी अहिलेको अवस्थासम्म आइपुगेको हो। उहाँहरूले चलाएजस्तै आजभोलि पनि पार्टी चलेको हेर्ने हाम्रो धोको हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै पार्टीको छवि राम्रो भएको हेर्ने हो। त्यसैका निम्ति यसअघि बहुमत जिल्लामा पार्टी सभापतिहरूले केन्द्रीय सदस्य बन्नका लागि वडाबाट चुनिएर आउनुपर्ने माग गर्नुभएको थियो। त्यसले नेता तथा कार्यकर्तालाई केन्द्रीय नेताहरूभन्दा गाउँगाउँका कार्यकर्तामाझ केन्द्रित गराउने–भिजाउने थियो। तर, उक्त माग पनि लत्याइएको छ। हामी त्यस विषयमा नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ।
कांग्रेसको युवा नेतृत्व पंक्ति गुट–उपगुटमा आफै विभाजित छ, किन? कहिलेसम्म आन्तरिक विवादमा रुमल्लिइरहने?
– अब पहिलो पुस्ताका नेताले पार्टी चलाउन सक्दैनन्। नेतृत्व युवा तथा दोस्रो पुस्तामा हस्तान्तरण हुनुपर्छ। पुरानो पुस्ताका नेतालाई जनताले विश्वास गर्न छोडिसके। त्यसैले अबको नेतृत्व युवाले सम्हाल्नुपर्छ। युवा नेतृत्वमा आउन जरुरी छ। तर, युवा नेतृत्वमा आएर मात्रै हुँदैन, उनीहरू सच्चिनु पनि जरुरी छ।
तर, म के कुरामा चाहिँ ढुक्क छु भने मैले पार्टीका लागि दिएको योगदानको पार्टी नेतृत्व र जनताले कदर गर्नेछन्। पार्टीमा मेरो योगदान र क्षमतालाई हेरेर जुन जिम्मेवारी दिइन्छ, म जस्तोसुकै जिम्मेवारी पूरा गर्न पनि सक्षम छु।
पछिल्लो समय युवा नेतृत्वमा पनि एउटा नराम्रो प्रवृत्ति देखा परेको छ। पद पाएपछि सम्पूर्ण कुरा बिर्सिदिने। पदको वार्गेनिङ गर्ने चलन पनि छ। त्यसैले युवाले पदका लागि हैन, देश, जनता र पार्टीका लागि आन्दोलन गर्नुपर्छ र नेतृत्व गर्नसक्नुपर्छ। सक्षम नेतृत्व बन्न सफल हुनुपर्छ।
अब नेपाली कांग्रेसको महाधिवेशन पनि नजिकिँदै छ। तपाईं चाहिँ केमा उम्मेदवारी दिनुहुन्छ?
– मैले अहिले नै यो पदमा उम्मेदवारी दिन्छु भनेर केही तयारी गरेकी छैन। तर, म के कुरामा चाहिँ ढुक्क छु भने मैले पार्टीका लागि दिएको योगदानको पार्टी नेतृत्व र जनताले कदर गर्नेछन्। पार्टीमा मेरो योगदान र क्षमतालाई हेरेर जुन जिम्मेवारी दिइन्छ, म जस्तोसुकै जिम्मेवारी पूरा गर्न पनि सक्षम छु।
अब आउने नेपाली कांग्रेस महाधिवेशनको चुनावमा नयाँ नेतृत्वका लागि कस्तो समीकरण बन्ला? के अनुमान लगाउन सकिन्छ?
– अहिले सम्पूर्ण पार्टी नेतृत्व महाधिवेशन गराउनुपर्छ भन्नेमा हुनुहुन्छ। देशभरिका नेता तथा कार्यकर्ता चाँडो महाधिवेशन हुनुपर्नेमा छन्। त्यसको तयारी हुँदैछ। अहिले नै महाधिवेशनमा यस्तो समीकरण बन्छ, यो सभापतिका लागि, यो अन्य पदका लागि उम्मेदवार बन्छ भन्न सकिँदैन।
राजनीति हो, त्यसमा पनि चुनाव। कति बेला कस्तो समीकरण बन्छ? केही पत्तै हुँदैन। त्यो चुनावी माहोलले निर्धारण गर्छ। तर, के हो भने समीकरण जस्तो बनोस् सिंगो पार्टी र राष्ट्र मेरो हो भन्ने नयाँ निर्वाचित नेतृत्व आउनुपर्छ भन्ने हाम्रो माग हो। एउटा गुटको नेतृत्व चुनिएर नआओस्।
वर्तमान सरकारका कामकारवाहीलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
– वर्तमान दुई तिहाइ बहुमतको सरकारको कामकारवाहीको मूल्याङकन हामीले भन्दा पनि आम नेपाली जनताले गरिरहेका छन्। सरकारका हरेक काममा जनताको विरोध हुन्छ। जनविरोधी काम गर्दै आएका कारण सरकारको आलोचना भइरहेको छ। यो सरकारप्रति जुन अपेक्षा जनताको थियो, त्यो अपेक्षा सरकारले पूरा गर्न नसकेका कारण यो आक्रोश आएको हो।
आम नागरिकका जनजीविका जोडिएका विषयमा सरकारले प्रभावकारी काम गर्न सकेन। जसका कारण सरकार आलोचनाको सिकार बनिरहेको छ। यसमा हामी पनि चुकेका छौँ। नेपाली कांग्रेसले पनि सशक्त रूपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न सकिरहेको छैन। जसरी सरकारले जनअपेक्षाविपरीत काम गरिरहेको छ, त्यसको आलोचना गर्न नेपाली कांग्रेस पनि चुकेको छ। सरकारका गल्तीलाई जनतासामु ल्याउन सकेको छैन।