डीआर बन्जाडे, वैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले सरकार ‘कु’ गर्ने तयारीमा जुटेको आरोप लगाएका छन्। उनले सरकारका गतिविधिहरु, सुरक्षा विधेयक र राष्ट्रिय सुरक्षा परिषदमा देखिएको प्रवृत्तिले सरकार भविष्यमा ‘कु’ गर्ने योजनाका साथ आधार निमार्णमा जुटेको टिप्पणी गरे।
सोमबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता केसीले लोकतन्त्रको आडमा सरकार आडम्बर र सर्वसत्तावादतर्फ उन्मुख रहेको बताए। सार्वजनिक सम्पत्ति हिनामिना गर्नेहरुलाई राज्यबाट नै संरक्षण हुने गरेको भन्दै पूर्वमन्त्रीसमेत रहेका केसीले सरकार ‘राष्ट्रिय लुटको महायात्रा’मा हिँडिरहेको दावी गरे। ‘भ्रष्टाचारमा शुन्य सहनशीलताको कुरा गर्ने सरकारले संस्थागत रुपमै भ्रष्टाचारलाई प्रोत्साहन गरिहेको छ। भ्रष्टाचार गर्न दिन्नँ र गर्दिन भन्ने उखान कता गयो?’ उनले प्रश्न गरे।
सरकार जनतालाई भ्रम छर्नमा सफल देखिए पनि देश विकासका काममा शुन्य रहेको नेता केसीको टिप्पणी थियो। ‘सरकार गफ र हावादारी कुरा गर्नमा सफल देखियो,’ उनले भने, ‘विकास र समृद्धिको दिशातर्फ सरकारले नजरसम्म लगाउन चाहेको छैन। अहिले भइरहेका पूर्वाधार विकास नियमित विकास मात्र हुन्।’ प्रधानमन्त्रीको उत्पत्ति नै गैरसंवैधानिक तरिकाले भएको भन्दै नेता केसीले संसदीय व्यवस्था यस सरकारबाट अपेक्षा गर्नै नसकिने दावी गरे। ‘गधा धोएर गाई हुँदैन। एकदलीय प्रणालीबाट प्रेरित कम्युनिष्ट लोकतान्त्रिक हुनै सक्दैन,’ उनले भने।
उनले सूचना विधेयकदेखि संसदमा आएका प्राय सबैजसो विधेयक लोकतन्त्रमा अंकुश लगाउने उद्देश्यका साथ आइरहेको बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र एकताको नाटक भए पनि दिल मिल्न नसकेको उनको भनाइ थियो।
पार्टीका पूर्व सहमहामन्त्रीसमेत रहेका नेता केसीले कांग्रेसभित्र स्वजागरणको अवश्यकता रहेको बताए। ‘जनजागरण राम्रो कुरा हो तर नेता कार्यकर्तामा स्वजागरण अवश्यक छ,’ उनले भने।