काठमाडौँ - हिन्दू राष्ट्रसहित विभिन्न २२ बुँदे मागहरु राखी सडक संघर्षमा उत्रिएको राप्रपाले सरकारसँग वार्ता गर्ने भएको छ।
कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले आइतबार वार्तामा आउन पत्र पठाएका थिए। सरकारको सो पत्रले पहलकदमी सकरात्मक भाव दर्शाएको भन्दै सोमबार वार्ता समिति पनि गठन गरेको छ।
राप्रपाले पार्टीका वरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको नेता मोहन श्रेष्ठले जानकारी दिएका छन्। महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको समिति र सरकारबीच मंगलबार वार्ता हुनेछ।
राप्रपाले गत फागुन ७ गते हिन्दू राष्ट्रको मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे माग बुझाएर आन्दोलनमा उत्रिएको थियो।
