विराटनगर – संघीय समाजवादी फोरम नेपालको प्रदेश १ स्तरीय प्रथम एकता अधिवेशन विराटनगरमा हुने तय भएको छ। सो पार्टीको प्रदेश १ स्तरीय तदर्थ समितिले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गरी अधिवेशन तयारी सम्बन्धमा जानकारी गराएको हो।
यही वैशाख १५ र १६ गते हुन लागेको अधिवेशनमा १४ जिल्लाका ५ सय १६ जना प्रतिनिधि सहभागी हुने फोरमको तदर्थ समितिले जानकारी दिएको छ। संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
नयाँ कार्य समिति चयन गर्ने सो अधिवेशनमा पार्टीलाई सशक्त एवं संगठित बनाउने विषयमा छलफल हुने फोरमको प्रदेश १ तर्दथ समितिका अध्यक्ष भुपेन्द्र नेम्बाङले जानकारी दिए।
प्रदेश अधिवेशनले सबै समुदायको हक अधिकार स्थापित गर्ने विषयमा जोड दिने समितिका उपाध्यक्ष राजकुमार यादवले बताए। अधिवेशन सम्पन्न भएपछि वैशाख २८ गतेदेखि तीन दिनसम्म जनकपुरमा पार्टीको प्रथम राष्ट्रिय एकता महाधिवेशन हुने फोरमको कार्यक्रम छ। सो महाधिवेशनमा संविधान संशोधन, समानुुपातिक तथा समावेशीकरणका मुद्दाका विषयमा छलफल हुने यादवको भनाइ छ।