डीआर बन्जाडे, बुटवल – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकार ‘कुहिरोको काग’जस्तै भएको टिप्पणी गरेका छन्। ‘कम्युनिष्ट सरकार काम गर्ने होइन गफ मात्र गर्ने हो,’ आक्रोसित हुँदै नेता पौडेलले भने, ‘अब यो सरकारबाट कुनै आश गर्ने ठाउँ छैन। सबै सीमापार भइसके।’
शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले कम्युनिष्ट सरकार एकपछि अर्को गर्दै अधिनायकवादतर्फ उन्मुख हुँदै गएको समेत दाबी गरे। उनले सरकार शक्ति पृथकीकरणका विरुद्धमा नाङ्गो रुपमा लागि परेको बताए। उनले न्यायालय, संसद जस्ता अङ्गहरुमा कार्यकारी निकाय हावी हुनु सर्वसत्तावादको प्रष्ट उदाहरण भएको बताए।
सरकारले संस्थागत रुपमा भ्रष्टाचार गर्न प्रेरित गरेको आरोप लगाए। ‘वाइडबडी प्रकरण, महासचिवको जग्गा प्रकरणमा सरकारले पहिला नै संरक्षण गर्ने गरेको उदाहरण तपाइहरुले देख्नुभएकै छ,’ उनले भने, ‘सरकार भ्रष्टाचारीलाई ढाकछोपमै व्यस्त छ।’ नेपाली कांग्रेस पनि मुद्दाहरु उठान गर्दा ढंग पुर्याउन चुकेको स्वीकार गरे। उनले भ्रष्टाचारको मुद्दालाई पहिलो मुद्दा बनाई आन्दोलनमा जानु पर्नेमा जोड दिए।