काठमाडौं, २२ पुस। आइतबार संसद् बैठकको शुरुमै प्रधानमन्त्री ओलीले लगभग एक घन्टा लामो सम्बोधन गरे। उनले सरकारको कामकारबाहीबारे जानकारी दिनुका साथै विपक्षी सांसदहरूले विभिन्न समयमा उठाएका प्रश्नहरूको जवाफसमेत दिए।
ओलीको सम्बोधन सकिएलगत्तै प्रश्न गर्नका लागि सांसदहरूले समय मागेका थिए। तर, सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले सरकारको कामकारबाहीबारे जानकारी मात्र दिएको भन्दै समय दिएनन्।
कांग्रेस सांसदहरूले उभिएर विरोध गरेपछि सभामुख महराले ‘सीमित सदस्यलाई प्रश्न गर्न अनुमति दिन्छु’ भन्दै मिनेन्द्र रिजालको नाम लिएका थिए। तर, रिजालले महराको प्रस्ताव मानेनन्। सांसदले जिज्ञासा राख्न पाउनुपर्छ, जवाफ दिनु प्रधानमन्त्रीको जिम्मेवारी हो– उनले भने।
सभामुखले प्रश्न गर्ने कार्यक्रम हटाएको सूचना दिँदै अर्थ समितिका सभापति कृष्ण दाहाललाई निवृत्तिभरण कोषसम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्न समय दिए।
कांग्रेस सांसदहरूको नाराबाजीका कारण दाहालले प्रतिवेदन पेश गर्दै गरे पनि बैठक १५ मिनेटलाई स्थगित भएको छ।