महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारका वन, उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलको निर्वाचन क्षेत्रमा सिँचाईका योजनाले प्राथमिकता पाएको छ।
प्रदेश सरकारको प्रदेश पूर्वाधार विकास कोष एवं निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सिँचाईका योजनाले प्राथमिकता पाएका हुन्। उक्त कार्यक्रमअन्तर्गत प्रदेशसभा सदस्यलाई आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि दुई करोड बरबरको योजना छनोट गर्न पाउने व्यवस्था छ।
राज्यमन्त्री रावलले निर्वाचन क्षेत्रका १४ योजनामध्ये पाँच वटा सिँचाईका छन्। सिँचाई आयोजनाका लागि एक करोड पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत भीनपा –३ को राधाकृष्ण टोलमा भूमिगत सिँचाईका लागि ४५ लाख र वेनपा –८ मा १२ लाख लगायतका सिँचाई योजना छनोट भएका छन्।
राज्यमन्त्री रावलको प्रदेश पूर्वाधार विकास कोषअन्र्तगत मन्दिर निर्माणका लागि १४ लाख, दुई वटा कल्भर्ट निर्माणका योजनाका लागि २० लाख, तीन वटा ढल निकास योजनाका लागि ३१ लाख, सडक स्तरोन्नतिका लागि १० लाख, भीनपा –१७ को वडा कार्यालय निर्माणका लागि १८ लाख, खेल मैदान निर्माणका लागि १० र प्रशासनिक खर्च दुई लाख गरी दुई करोडको निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन हुने भएका छन्।
राज्यमन्त्री रावलले स्थानीय तहसँगको सहकार्यमा उक्त योजना चालु आर्थिक वर्षभित्र सक्ने गरी काम भइरहेको बताए। उनले जनताको मागअनुसार कार्यक्रम छनोट गरिएको बताउँदै आफ्नो मन्त्रालयबाट समेत करोडौँ बजेटका योजना स्वीकृत भएको जानकारी दिए।