पोखरा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी स्वातित्वमा रहेको जग्गा हिनामिना गर्नेलाई नछाड्ने बताएका छन्। शुक्रबार स्वर्गीय बीपी कोइराला स्मृति भवनको उद्घाटन गर्न माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २, सार्दीखोला पुगेका उनले यस्तो बताएका हुन्।
‘सरकारी स्वामित्वमा रहेको जग्गालाई बेच्न पनि पाइन्न, किन्न पनि पाइन्न,’ उनले भने, ‘सरकारी जग्गा व्यक्तिको नाममा कसरी गयो? बेच्ने को हो? किन्ने को हो? त्यो त राष्ट्रियकरण भइसकेको जग्गा हो।’
राणा कालमा सुवर्ण शमसेरको स्वामित्वमा रहेको जग्गालाई तत्कालीन राजा महेन्द्रले अधिग्रहण गरी सो जग्गालाई सरकारी स्वामित्वमा ल्याएको उनले बताए। सरकारी स्वामित्व रहेको जग्गालाई केही गर्न नपाइने उनको धारणा थियो। अधिग्रहण गरिएको जग्गा भए पनि किनबेच गर्न नपाइने उनको धारणा थियो। ‘थाहा पाई-पाई यो काम भएको छ,’ उनले भने, ‘यसलाई हामी छाड्ने छैनौँ।’
सभापति देउवाले स्थापनाको एक वर्ष पार गरिसक्दा पनि ओली सरकारले देखाउन मिल्ने केही गर्न नसकेको आरोप लगाए। ‘अहिले देश एकदमै कठिन परिस्थितिबाट गुज्रिरहेको छ,’ देउवाले भने, ‘ओली सरकारले महँगी र भ्रष्टाचार बढाएर जनतालाई दुःख दिने काम गरेको छ।’
सभापति देउवाले ओली सरकार पञ्चायत कालमा जस्तो कुखुरामा पनि कर लगाउने, प्रेसमाथि अंकुश लगाउने, चिकित्सा क्षेत्रमाथि हस्तक्षेप गर्नेजस्ता लज्जास्पद काम गरेको उनले आरोप लगाए।