काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन्।
नेपाल विद्यार्थी संघको ४९औँ स्थापना दिवसका अवसरमा नेविसंघ काठमाडौँले आज शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले त्यस्तो धारणा व्यक्त गरेका हुन्।
सभापति देउवाले भने, ‘सरकारको विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको छ, निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महँगी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध नेविसंघ जाग्नुपर्ने बेला आएको छ, ओली सरकारको विकल्प खोज्ने अवस्था नआओस्।’
सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेविसंघको तदर्थ समिति गठन गर्ने बताए। मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसंघ अब सरकारविरुद्धको आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ छ।
कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकार कुरा गर्ने काम नगर्नेतर्फ अगाडि बढेको बताउँदै यसको विरुद्द कांग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताए।
उनले भने, ‘नेविसंघको कार्यसमिति चाँडै गठन हुन्छ, उक्त कार्यसमितिले संगठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ।’
कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिनायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाए।
उनले भने, ‘आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेविसंघको संगठन विस्तारमा लाग्नुपर्छ।’
कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्रभागमा उभिएको नेविसंघको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको नयाँ कार्यसमितिलाई तत्काल निर्माण गरेर जागरण अभियानमा समावेश गर्नुपर्ने बताए।
नेविसंघ काठमाडौँका अध्यक्ष मनोज वैद्यले नेविसंघको कार्यसमिति तत्काल गठन गर्न माग गरे।