काठमाडौँ - गत वर्ष फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नम्बर २ रिक्त छ।
रिक्त निर्वाचन क्षेत्रमा स्व. अधिकारीकी श्रीमती विद्या भट्टराई, नेकपाका नेताहरू सोमनाथ प्यासी, तुलबहादुर गुरुङ, धनराज आचार्य र अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यको नाम चर्चामा छ। जिल्ला र केन्द्र पार्टीले कास्की क्षेत्र नम्बर २ को लागि अघि सारेको खण्डमा आफू तयार रहेको विद्यार्थी नेता रश्मी आचार्य बताउछन्।
उनले भने, ‘खासमा म एकिकृत अखिलको अध्यक्ष बन्ने र शिक्षा क्षेत्रको आमुल परिर्वतनको लागि केही नमूना कामहरु गर्ने सोचमा छु। अर्को कुरा विद्या भट्टराईले चाहना राख्नु भयो भने उहाँ नै लाई पहिलो प्राथमिकता हुन्छ। तथापी भाउजुले चाहनु भएन भने म पनि तयार छु। अबको राजनीतिमा युवाहरुको उपस्थिति जरुरी छ, युवाहरुको आवश्यकता पनि हो, त्यसैमा पनि युवा नेताले नेतृत्व लिइसकेको यस क्षेत्रमा पार्टीले मलाई अघि सार्छ भने म पछि सर्ने कुरा आउँदैन।’
उपाध्यक्ष आचार्यले देशभरका रिक्त स्थानहरुमा तत्काल उप-निर्वाचन गर्न माग समेत गरेका छन्। नेपाली पब्लिकसँगको कुरानिमा उनले भने, ‘लोकतन्त्रमा यो वा त्यो बाहनामा जनप्रतिनिधि पद रिक्त राख्ने कुरा मान्य हुँदैन। कानून नबनेको हो भने बनाउँनु पर्यो, सबैभन्दा बढी जिम्मेवार निर्वाचन आयोग हो, आयोगले आफ्ना क्रियाकलापहरु निर्वाधरुपमा सञ्चालन गर्नुपर्छ।’
सत्ताधारी नेकपाको अवस्था राम्रो नभएका कारण रिक्त स्थानहरुमा निर्वाचन हनु नसकेका टिप्पणीहरु आइरहेका छन् नि ? भनेर सोधिएको पश्नको जवाफमा नेता आचार्यले भने,‘यो टिप्पणी सत्यसँग नजिक छैन। तथापि नेकपाको अवस्था राम्रो नराम्रो जे भए पनि उप–निर्वाचन तत्काल हुनुपर्छ, जनताको अधिकारलाई यसरी बन्दकी बनाउँनु हुँदैन, जहाँ जे जे आवश्यक छ, त्यो तयारी गरेर सरकार र निर्वाचन आयोगले तत्तकाल निवार्चन गरोस् भन्ने मेरा माग हो।’
उनले अगाडि भने,‘सांसदको मात्रै कुरा नभएर स्थानीय तहमा डेढ वर्षदेखि गापा अध्यक्ष, नगर प्रमुखका पदहरु रिक्त छन्, प्रतिनिधि सभामा, प्रदेश सभाका केही सांसदको निधन भएका कारण रिक्त पदहरुमा उप–निर्वाचन भएको छैन। जित हार फरक कुरा हो, निर्वाचन हुनुपर्छ, त्यो जनताको अधिकार हो।’