विराटनगर - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बिहीबार मोरङका विभिन्न स्थानमा पुर्वाधारहरुको शिलान्यास तथा सामुदायिक विद्यालयलाई सुचना प्रविधि हस्तान्तरण गरेका छन्। संघ र प्रदेशमा कर्मचारी समायाेजनका काम मन्त्रालयमा अलपत्र छाडेर मन्त्री पण्डित दिनैभर शिलान्यासमा दाैडेका हुन्।
मन्त्री पण्डितले तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत नेपाल सरकारले निर्माण गरिदिने विराटनगर –६, सरौचियामा मुस्लिम समुदायको सामुदयिक भवन (मुसाफिरखाना)को शिलान्यास गरेका छन्।
करिब १० करोडको लागतमा निर्माण हुने मुस्लिम कम्युनिटी सेन्टरद्वारा प्रस्तावित सो भवन निर्माणका लागि तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ करोड रुपैयाँ सहयोग गरेको नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरीले जानकारी दिए।
४ कठ्ठामा बन्न लागेको सो भवन ट्रयु बिल्ड इन्जिनियरिङ कन्सल्ट्यान्ट प्रालिले गरेको भवनको डिजाइन अनुसार ६ सय स्क्वायर मिटरको ५ तल्ले हुनेछ।
सो अवसरमा मन्त्री पण्डितले सबैको सहयोगले भवन निर्माण हुनेमा आफू विश्वस्त रहेको बताए। उनले मुस्लिम समुदाय सबैभन्दा राष्ट्रवादी रहेको बताउँदै मुस्लिम समुदायको उत्थान र विकासमा नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकार सदैव तत्पर रहेको बताए।
मुस्लिम समुदायको पहिचान झल्किने गरी निर्माण गर्न लागिएको सो भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै मुस्लिम कम्युनिटी सेन्टरका अध्यक्ष जावेदनवी इराकीले निर्माण सम्पन्न गर्नका लागि अझै सहयोगको खाँचो रहेको बताए।
त्यस्तै मन्त्री पण्डितले सरकारको तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत नै विराटनगर हाटखोलाको मसान घाटस्थित सिंघिया नदी किनारमा निर्माण हुने हरित पार्कको पनि शिलान्यास गरेका छन्। तटबन्ध र छठ पर्वमा पुजा गर्नका लागि प्रयोग गरिने उक्त पार्क निर्माणका लागि मन्त्रालयले १ करोड रुपैयाँ उपलब्ध गराएको नेकपा प्रदेश कमिटि सदस्य सत्यनारायण चौधरीले जानकारी दिए।
मन्त्री पण्डितले मोरङको सुन्दरहरैँचा नगरपालिका –५ स्थित लाटी खोलामा निर्माण हुने झोलुंगे पुलको पनि शिलन्यास गरे। करिब ३ करोड रुपैयाँको लागतमा निर्माण हुने सो पुल निर्माण भए स्थानीय कृषि उपजको बजारीकरणमा टेवा मिल्ने मन्त्री पण्डितले बताए।
रतुवामाई नगरपालिकास्थित बक्राह नदीको सुनवर्षी घाटमा निर्माण हुने झोलुंगे पुलको पनि मन्त्री पण्डितले शिलान्यास गरेका छन्।
विद्यालयलाई सुचना प्रविधि हस्तान्तरण
मन्त्री पण्डितले विद्यार्थी र अभिभावकलाई सुचना प्रविधिको पहुँचमा पुर्याउन मोरङका विभिन्न विद्यालयलाई सुचना प्रविधि हस्तान्तरण गरेका छन्। उनले विराटनगरस्थित गोग्राह उच्च मावि, सुुन्दरहरैँचा नगरपालिकास्थित साजीलाल उच्च मावि, बुढीगंगा–५ स्थित कर्मवीर उच्च मावि र वडा नं. ६ स्थित सरस्वती माविलाई कम्प्यूटर ल्याव तथा सुचना प्रविधिका लागि विविध सामग्री सहयोग गरेका छन्।