महेन्द्रनगर - नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट माओवादीसँग वार्ता गर्नुपर्ने बताएका छन्। मंगलबार प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले सरकार र विप्लवबीच वार्ता आवश्यक भएको बताए।
विप्लवलाई प्रतिबन्ध नभई वार्ताको माध्यमद्वारा राष्ट्रिय राजनीतिको मुलधारमा लिएर देशमा शान्ति सुरक्षा कायम गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै वर्तमान दुई तिहाइको कम्युनिष्ट सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको देउवाको आरोप छ। ‘सरकारले शिक्षा, स्वास्थ्य र प्रेसलगायत सबै क्षेत्रलाई नियन्त्रणको प्रयास गरिरहेको छ, केपी ओली नेतृत्वको सरकार दिनानुदिन हस्तक्षेपकारी बन्दै गइरहेको छ,’ उनले भने।
विश्वविद्यालयमा प्राज्ञिक नियुक्ति, चिकित्सा शिक्षा विधेयक, न्यायालय र प्रेस स्वतन्त्रतामा सरकारले मनोमानी व्यवहार गरी आफ्नो नियन्त्रणमा राख्न खोजेको उनको दावी छ। उनले सरकारले आफ्नो एक वर्षे कार्यकालमा एउटा पनि देखाउनलायक काम गर्न नसकेको र देशमा हत्या-हिंसा, बलात्कारका घटनासमेत वृद्धि भएको बताए।
त्यस्तै पत्रकार सम्मेलनमा सोधिएका प्रश्नहरुको जवाफ दिँदै देउवाले कांग्रेसमा गुटको अन्त भएको दावी गरे। ‘राष्ट्रिय मुद्दा र पार्टीलाई बलियो बनाउन सबै एकमत छौँ,’ उनले भने।