डीआर बन्जाडे, बुटवल – सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भूमाफियालाई ‘पानीमुनि गए पनि’ नछाड्ने बताएका छन्। उनले देशमा अब माफियागिरीको अन्त्य भएको भन्दै यस्ता क्रियाकलाप हुन नदिन सरकार दृढतापूर्वक लाग्ने दावी गरे।
मंगलबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बाँस्कोटाले देश समृद्धिको यात्रामा अघि बढेकाले यस यात्रामा मिडियाहरुले पनि सघाउनुपर्ने बताए। सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले भने, ‘सरकार तथ्यमा आधारित आलोचना सुन्न तयार छ। तर अब देशलाई सरापेर गौरव गर्ने बेला होइन।’
उनले सरकार आलोचनाका बीच अघि बढिरहेको बताए। ‘आलोचना हुँदै गर्छन्, हामी सकारात्मक सोचका साथ अघि बढ्ने हो,’ उनले भने।
पत्रकारहरु अन्तर्राष्ट्रिय मुद्दामा समेत एकै स्थानमा उभिन नसकेकोमा चिन्ता व्यक्त गरे। ‘स्वदेशी मुद्दाहरुमा त संसारभर यस्तै हो, तर अन्तर्राष्ट्रिय विषयमा पनि एक हुन नसक्नु नेपाली पत्रकारिताको कमजोर पक्ष हो।’ लगानी सम्मेलनलाई इंगित गर्दै मन्त्री बाँस्कोटाले भने, ‘सकारात्मक कुरालाई पनि अँगाल्न सक्नु पर्छ।’