काठमाडौँ - प्रदीप यादव संघीय समाजवादी फोरम नेपालको तर्फबाट पर्साबाट निर्वाचित प्रतिनिधि सभा सांसद हुन्। उनी सोमबार भएको निर्वाचनमा प्रदेश सांसद रहिम अन्सारीलाई अत्याधिक मतले पराजित गर्दै संघीय समाजवादी फोरम नेपाल पर्साको अध्यक्षमा चौथो पटक विजयी बनेका छन्।
उनको भावी योजनाको विषयमा नेपाली पब्लिकका लागि सुरज खनालले गरेको कुराकानीः
चौथो कार्यकालका लागि निर्वाचित हुनुभएकोमा बधाई छ!
धन्यवाद।
जिल्लामा पार्टीलाई अब कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ?
-पर्सा जिल्लामा संघीय समाजवादी फोरम गत असारमा सम्पन्न स्थानीय तहको चु्नाव र मंसिरमा भएको प्रदेश र संघको चुनावमा पहिलो पार्टी बन्न पुगेको थियो। अब पनि पार्टीको कामका लागि, संगठन विस्तारका लागि कुनै कसर बाँकी राख्दिनँ। अहोरात्र खटिन्छु। विगतका दिनहरुमा जुन मेहनत गरेका छौँ, त्यही मेहनतको परिणाम र सम्पूर्ण नेता तथा कार्यकर्ताले हामीलाई निर्वाचित गराएको हो।
तपाई तीन कार्यकाल अध्यक्ष भइसक्नु भएको छ। यसपटक अध्यक्षमा नयाँ अनुहार आउने भन्ने थियो। तर, तपाई आफैँ अध्यक्ष हुनुभयो, किन?
-म आफैँ फेरि पनि जिल्ला अध्यक्ष हुने सोचमा थिइनँ। केन्द्रको नेतृत्वमा जाने सोचमा थिएँ। तर, हाम्रा अग्रज नेता–कार्यकर्ता, पार्टीलाई माया गर्ने शुभेच्छुकहरुको आग्रहमा अध्यक्ष बनेको हुँ। ‘पार्टीलाई अझै मजबुत बनाउन, अन्य पार्टीलाई टक्कर दिन तपाईको विकल्प छैन, सबैलाई मिलाएर लैजाने क्षमता तपाइसँग मात्र छ, त्यसैले तपाईले नै नेतृत्व लिनुपर्छ’ भनेपछि चौथो कार्यकालका लागि अध्यक्ष बनेको हुँ। केही साथीहरु चुनाव लड्नुभो, तर अन्तिममा १० गुणाबढी मतले म विजयी भएँ।
केही समयअघि पर्सा जिल्ला कार्य समितिमा विवाद भएको थियो। त्यो समाधान भइसकेको हो कि अझै कायमै छ?
-अँँ, त्यो समाधान भइसक्यो। हाम्रो पार्टीमा कुनै विवाद छैन। हामी आफैँ बसेर समस्या समाधान गरिसक्यौँ। अब पार्टीमा अनेकता छैन, एकता मात्रै छ। सबै पार्टी निर्माणमा केन्द्रित छौँ।
तपाई आफैँ व्यस्त सांसद पनि हुनुहुन्छ। सांसद र पार्टी अध्यक्षको जिम्मेवारी निर्वाह गर्न कसरी सक्नुहुन्छ?
-कुनै अप्ठ्यारो पर्दैन। म जनप्रतिनिधि पनि हुँ। संसद चलेका बेला आफ्ना जनताका कुरा संसदमा राख्छु। जिल्लामा हाम्रो टिम छ। सबैसँग मिलेर पार्टीमा अध्यक्षको जिम्मेवारी सम्हाल्छु। सबैसँग सहकार्य गर्छु। निरन्तर सम्पर्कमा रहन्छु।
चौथोपटक अध्यक्ष भइरहँदा पार्टीभित्र कुनै असन्तुष्टिका आवाजहरु सुनिएका छन् कि छैनन्?
- कुनै असन्तुष्टि छैन। संघीय समाजवादी फोरम पर्सामा सहमतिको प्रयास गर्दागर्दै पनि चुनाव भयो। चुनावबाट म विजयी भएँ। त्यसपछि हामी सबै साथीहरुले एउटै माला लगाएर एकताको सन्देश दियौँ।