वीरगञ्ज - संघीय समाजवादी फोरम नेपाल पर्साकोे अध्यक्षमा प्रतिनिधिसभाका सांसद प्रदीप यादव चौथो कार्यकालका लागि निर्वाचित भएका छन्।
अध्यक्षका लागि सहमति हुन नसकेपछि भएको निर्वाचनमा प्रदेश सांसद अब्दुल रहिम अन्सारीलाई अत्याधिक मतले पराजित गर्दै यादव पुनः अध्यक्ष बन्न सफल भएका हुन्।
यादवले ४० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्द्धी अन्सारीले ४ मत मात्रै प्राप्त गरे। २ मत बदर भएको थियो। १४ वटा स्थानीय तहमध्ये प्रत्येक गाउँपालिका र नगरपालिकाबाट ३/३ तथा महानगरपालिकाबाट ७ मत गरी ४६ वटा मत खसेको थियो।
अध्यक्षमा निर्वाचित भएपछि सांसद यादवले पार्टीभित्र कुनै प्रकारको मनमुटाव नरहेको बताए। पार्टीलाई एक ढिक्का बनाएर लैजान सबैसँग सहकार्य एवं सहमतिको आधारमा अगाडि बढ्ने उनले बताए।
संगठन निर्माणका क्रममा अहिले देशैभर संघीय समाजवादी फोरम नेपालप्रति जनताको विश्वास बढ्दै गएकाले पार्टीभित्र कुनै गुट उपगुटमा नलाग्न नेता तथा कार्यकर्तालाई नवनिर्वाचित अध्यक्ष यादवले आग्रह गरे।