काठमाडौँ – विवेकशील साझा पार्टीले प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासको जग्गा व्यक्तिको नाममा नामसारी भएको घटनाको विरोधमा प्रदर्शन गरेको छ। सो पार्टीले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारअगाडि एक घण्टा प्रदर्शन गरेको थियो।
सो क्रममा ‘ठूलो माछा कता छ? सिंहदरबार जता छ’, ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘नेताहरुको सम्पत्ति छानवीन गर’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, लेखिएको प्ले कार्डहरु पनि प्रर्दशन गरिएका थिए।
यस्ता घटनामा सरकारलाई खवरदारी गर्न सबै सचेत नागरिक, नागरिक समाज, राजनीतिक दल र सञ्चारकर्मीहरुलाई पनि विवेकशीलले आग्रह गरेको छ। ‘देशकै कार्यकारी प्रमुख प्रधानमन्त्रीको सरकारी निवास रहेको जग्गा नै व्यक्तिको नाममा दर्ता भएको घटना अत्यन्त गम्भिर छ। हामीले यसको कडा विरोध गर्छौं,’ प्रवक्ता सूर्यराज आचार्यले भने, ‘आगामी दिनमा कुनै पनि सरकारी जग्गा यस प्रकारको अपचलन नहोस्। यस घटनामा संलग्नलाई कारवाही गरियोस्।’
प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले समेत किनेको तथ्य बाहिर आएपछि सरकारले एक हप्ताअघि सो जग्गा किनबेचमा गर्न रोक लगाएको छ।
तस्बिरहरू: रविन्द्र मिश्रको फेसबुकबाट।