काठमाडाैँ, २१ पुस। तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) शनिबार हुँदैछ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले यही पुस १७ गतेसम्मको समयभित्र प्रतियोगिताका लागि दर्ता भएका २०५ खेलाडीबीच अक्सन हुने जानकारी दिए। यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता गत मङ्गलबारसम्मका लागि तोकिएको थियो। यस पटक खेलाडीको वर्गीकरण नगरिएपछि न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन्। जसअनुसार प्रतियोगितामा सहभागी टोलीले खेलाडी गर्नेछन्।
https://twitter.com/dpldhangadhi/status/1080448550264340485
अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्ध गर्नेछन्। मुलुकभरका ६ टोली सहभागी हुने डिपिएलमा हरेक टोलीले दुई विदेशी खेलाडीसहित १५ खेलाडीलाई टोलीमा अनुबन्ध गर्न पाउने प्रावधान छ।
टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछन्। लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको शीर्ष चार टोली प्लेअफमा छनोट हुनेछन्। प्लेअफमा पुगेका चार टोलीमध्ये अङ्कतालीकामा पहिलो र दोस्रो हुने टिम फाइनलमा पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने खेलको विजेता सिधै फाइनल प्रवेश गर्दा पराजित हुने टोलीले तेस्रो र चौथोबीचको विजेतासँग खेल्नेछ।
प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ। डीपिएलका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन्। प्रतियोगितामा सहभागी हुने ६ टोलीहरुमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन्।
रोउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताकाे सबै टोलीमा दुई–दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ। देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताका रुपमा २०७३ र २०७४ सालमा डिपिएलको पहिलो र दोस्रो संस्करण भएको थियो। दुवै संस्करणको उपाधि टिम चौराह धनगढीले जितेको थियो।