काठमाडौं, २० पुस। सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले भित्र्याएका दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा छलफल गर्न शुक्रबार बैठक बोलाएको थियो।
सो बैठकमा अधिकांश सांसदहरु निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारविरुद्ध उत्रिएका छन्। सो क्रममा केही सांसदले उनलाई ‘भ्रष्टाचारका महानायक’को संज्ञा दिए भने केहीले ‘पूर्वराजा ज्ञानेन्द्र शाहभन्दा तगडा’ भएको टिप्पणी गरे।
संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारी र गृहसचिव प्रेमकुमार राईलाई घुमाउरो भाषामा बचाउ गरेका सत्तापक्षका सांसदहरुले सुगतरत्न नै विमान खरिदको मुख्य दोषी रहेको दाबी गरे।
वाइडबडी प्रकरणमा भएको अनियमितताबारे छानबिन गर्न गठित सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिका सदस्यसमेत रहेका संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले निगमका महाप्रबन्धक भ्रष्टाचारका महानायक भएको बताए।
यादवले वाइडबडी प्रकरणमा भ्रष्टाचार गर्ने सबैभन्दा ठूला व्यक्ति कंसाकार नै भएको दाबीसमेत गरे। उनले भने, ‘कंसाकार भ्रष्टाचारको महानायक हो, भ्रष्टाचारीलाई जसरी पनि कारबाही हुनुपर्छ।’
शुक्रबार बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद यादवले कंसाकार पूर्वराजा ज्ञानेन्द्रभन्दा पनि तगडा रहेको प्रतिक्रिया दिएका छन्। कंसाकारको विरुद्धमा कर्मचारीहरु पनि बोल्न डराउने यादवले बताए।
सांसद यादवले भने, ‘मन्त्रीले कंसाकार समेतलाई राखी कर्मचारीलाई उनीविरुद्धमा नबोल्न बरु सहयोग गर्न भनेको कुरा मलाई एकजना कर्मचारीले नभन्ने शर्तमा बताएका छन्।’ उनले वाइडबडी प्रकरणमा प्रमुख भूमिका सुगतरत्नसँगै अन्यको समेत रहेको ठोकुवा गरेका छन्।
सत्तारुढ दल नेकपाका सांसद प्रेम आलेले भ्रष्टाचारको ठूलो डिजाइनरका रुपमा सुगतरत्नलाई व्याख्या गरेका छन्। दोषीलाइ चाँडोभन्दा चाँडो कारबाही हुनुपर्ने बताउँदै उपसमितिको प्रतिवेदनमा कुनै पनि राजनीतिक वा व्यक्तिगत विषय नजोडिएको प्रस्ट पारे।
आफूलाई कतिपय दबाबका साथै काम गर्दा धन्यवाद आउनुपर्नेमा गाली आएकोसमेत गुनासो गरे। सांसद आलेले आफूलाई निकै दबाब आए पनि प्रतिवेदनमा झूठ कुरा नलेखेको बताए। ‘मलाई ३३ हजार जनताले घण्टौं लाइन लागेर जिताएका छन्’ उनले भने, ‘म कसरी झूठ बोल्न सक्छु?’
त्यस्तै, निगमका महाप्रबन्धक कंसाकारको नियुक्तिमाथि नै सांसद हृदयेश त्रिपाठीले प्रश्न उठाएका छन्। कंसाकार विवादित रहेको थाहा पाउँदापाउँदै नियुक्त गरिएको भन्दै त्रिपाठीले उनलाई नियुक्त गर्ने मान्छेको नियत खराब भएको हुनसक्ने बताए।
सुगतरत्नलाई नियुक्त गर्नु नै गलत निर्णय भएको त्रिपाठीको भनाइ छ। ‘म लेखा समितिको संयोजक भएका बेला सुगतरत्नजी दूरसञ्चारमा हुनुहुन्थ्यो’ उनले भने, ‘त्यहाँ पनि उहाँको एउटा मुद्दा थियो, फेरि नियुक्तिचाहिँ कसले गर्यो? निगममै आइसकेपछि पनि सुगतरत्न विवादित भएको भन्दै उनको नियुक्तिप्रति त्रिपाठीले असन्तुष्टि व्यक्त गरे।
अर्का सांसद सूर्य पाठकले पनि सुगतरत्न नै मुख्य डिजाइनर भएको बताएका छन्। सुगतरत्न वाइडबडी विमान खरिद प्रकरणका मुख्य दोषी भएको थाहा हुँदाहुँदै उनीसँगै अरुलाई दाँज्नु गलत भएको सांसद पाठकले बताए। तर, उपसमितिले तयार पारेको प्रतिवेदन अपूर्ण र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको पाठकको भनाइ छ। प्रमुख दोषी भनिएका व्यक्तिलाई उपसमितिले एकपटक पनि नसोधेको भन्दै पाठकले आपत्ति जनाए।