काठमाडौँ – नेकपा महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलेलाई क्षतिपूर्ति दिन नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)ले एक रुपैयाँ सहयोग संकलन अभियान शुरु गरेको छ।
जसअन्तर्गत शनिबार नेवि संघ काभ्रेले बनेपा चारदोबाटो बजारमा बाटोमा बटुवासँग १-१ रुपैयाँका दरले सहयोग संकलन गरेको छ। जसबाट ६ सय ७३ रुपैयाँ संकलन गरिएको नेवि संघ काभ्रेका अध्यक्ष निर्पेश बादेले जानकारी दिए। उनले जम्मा भएको रकम नेपाल सरकारलाई हस्तान्तरण गरिने बताए। सहयोग संकलन अभियानमा रबिन गौतम, गणेश अधिकारी, बिद्यासागर लामा, अन्जानराज खतिवडा ,उज्ज्वल प्रधान, योगेश्वर कायस्थ, भुसण अधिकारी लगायतको उपस्थिति थियो।
बालुवाटार जग्गा प्रकरणमा नेकपा महासचिव तथा पूर्व अर्थमन्त्री पौडेलको नामसमेत जोडिएको छ। उनको नाममा पनि बालुवाटारको जग्गा रहेको भेटिएको थियो।
उक्त विषयमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले पौडेल बालुवाटारको जग्गा किन्दा ठगिएको भन्दै उनलाई उल्टै क्षतिपूर्ति दिनुपर्ने बताएपछि नेवि संघले व्याङग्यात्मक अभियान थालेको हो।