काठमाडौँ – नेकपा सांसद एलपी साँवाले एयर होस्टेजमाथि दुर्व्यवहार गरेका छन्। मेनपावर व्यवसायी संघका पूर्वअध्यक्ष समेत रहेका सांसद साँवाले बुधबार साँझ काठमाडौँबाट झापाको भद्रपुर जाने क्रममा बुद्ध एयरमा कार्यरत जहाजकी एयर होस्टेजमाथि दुर्व्यवहार गरेका हुन्।
परिवारसहित झापा जाने क्रममा सांसद साँवा आफ्नो सिटमा नबसेर अर्को सिटमा बसेका थिए। सो क्रममा एयर होस्टेजले आफ्नो सिटमा बस्न भन्दै सांसद साँवालाई आग्रह गरेकी थिइन्।
तर साँवाले भने उल्टै एयर होस्टेजमाथि अभद्र व्यवहार गर्दै थर्काएका थिए। नम्र स्वरमा बोलेकी एयर होस्टेजलाई हप्काउँदै उनले भनेका थिए, ‘मलाई तिमीले सिकाउने? म को हो चिनेकी छस्? बुद्ध एयरको दादागिरी अति भयो, हामीले बुद्ध एयरको गतिविधि नजिकबाट हेरिरहेका छौँ।’
सांसद साँवा एयर होस्टेजले चकलेट र पानी दिँदासमेत जंगिएका थिए। उनले तिमिहरुको पानी र चकलेट पनि चाँहिदैन भन्दै रिसाए। उडान अवधिभर रिसाएर बसेका लिम्बुले भद्रपुर विमानस्थलमा पुगेपछि पनि एयर होस्टेजको आग्रहलाई नकार्दै ढोका खुल्नेवित्तिकै जबर्जजस्ती ओर्लिएका थिए।