काठमाडौँ, २० पुस। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीको राजीनामा मागेको छ। शुक्रबारको राष्ट्रियसभा बैठकमा कांग्रेस सांसदहरूले मन्त्री अधिकारीको राजीनामा मागेका हुन्।
बैठकको विशेष समय लिएर बोल्दै सांसद विन्दादेवी आलेले वाइडबडी विमान खरिद घोटालामा मुछिएका मन्त्री अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताइन्। विमान खरिदमा भएको अनियमिततासम्बन्धी छानबिन कार्यलाई सहज बनाउन पनि मन्त्री अधिकारीले तत्काल पद छोड्नुपर्ने सांसद आलेको भनाइ थियो। उनले विमान खरिद प्रकरणका दोषीलाई कारवाही गर्नुको साटो जाँचबुझ समिति गठन गरेको भन्दै सरकारको पनि चर्को आलोचना गरिन्।
सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिवेदनमा मन्त्री अधिकारीसहित दुई पूर्वमन्त्री र तीन सचिवलाई कारवाही गर्न सिफारिस गरेको छ। उपसमितिले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई पनि कारवाही गर्न निर्देशन दिएको छ।