काठमाडौं – दुईतिहाइको सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि जनताको भावनाअनुरूप काम गर्न नसकेको त्यसमा प्रतिपक्षी दल कांग्रेसले मौनता देखाएको उल्लेख गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार काठमाडौंमा खबरदारी सभा गरेको छ।
नेवि संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले केपी ओली नेतृत्वको वर्तमान सरकारले महँगी, भ्रष्टाचार र बलात्कारलाई निरुत्साहित गर्नुको सट्टा उल्टै प्रश्रय दिइरहेको आरोप लगाए।
सरकारको अराजकतामा कांग्रेस नेतृत्व मौन रहेकोमा आक्रोशित हुँदै काफ्लेले भने, ‘हाम्रो पाटीका सभापति पार्टी कब्जा गर्न व्यस्त हुनुहुन्छ, उता प्रधानमन्त्री देश कब्जा गर्न यी दुवै अधिनायकवादी नेतृत्वको खिलापमा हाम्रो अभियान हो पाटी सभापति गुठभन्दा माथि उठेर समग्र पार्टीको नेता बन्न अनुरोध गर्दछु।’
फरक प्रसङ्गमा काफ्लेले नेवि संघमा अब बन्ने समिति विधानअनुसार ३२ तलको ल्याउन माग गरे। उनले भने, ‘विधान मिच्ने काम पार्टीबाट भयो भने विधानलाई टेकेर ३२ वर्ष तलको अर्को समिति ल्याउन हामी बाध्य हुन्छौं।’
नेवि संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्य र संघकै निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपत्यकाका विभिन्न क्याम्पसका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेवि संघका नेताहरू डिल्लीराम सुवेदी, बलदेव तिमल्सिना, माधव ढकाल, सुशील भट्ट, युवराज पाण्डे, जीत शेरचन, गणेश सापकोटा, ईश्वर अधिकारी, विपीन अधिकारी, नमराज त्रीपाठी, हरि आचार्य, सम्बोधन गरिसकेका छन्।
कार्यक्रमका वक्ताहरुले वर्तमान सरकार अराजक बन्नुमा सरकार स्वयं जति जिम्मेवार छ, त्यति नै मात्रामा प्रतिपक्षी दल कांग्रेस पनि जिम्मेवार रहेको बताए। प्रतिपक्षी कांग्रेसले खबरदारी नगरेकै कारण सरकारले एकपछि अर्को गलत काम गर्दै अघि बढेको उनीहरूको आरोप छ।
नेविसंघ प्रतिपक्षी नेपाली कांग्रेसकै भ्रातृ संगठन हो। सरकारको अराजकतामा कांग्रेसले मौनता साँधेका कारण आफ्नै मातृ पार्टी कांग्रेसविरुद्ध खबरदारी गर्नुपरेको नेवि संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले बताए। कार्यक्रममा चर्चित गायक विमलराज क्षत्रीले सांगीतिक प्रस्तुतिमार्फत सहभागीलाई मनोरञ्जन दिलाएका थिए।
