बुटवल – बिहीबार जीप दुर्घटनामा निधन भएका कांग्रेस नेता तथा पूर्व सांसद रुद्रमणी शर्मा भण्डारीको शुक्रबार अन्त्येष्टि गरिदैछ। कांग्रेस नेता महेन्द्र भण्डारीका अनुसार स्थानीय धनार्जी घाटमा हुने अन्त्येष्ठिमा श्रद्धाञ्जली दिन सभापति शेरबहादुर देउवासमेत गुल्मी आउने भएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका शीर्ष नेताहरु शुक्रबार हेलीकप्टरमार्फत गुल्मी आउने नेता भण्डारीले बताए।
नेपाली कांग्रेस जिल्ला समिति गुल्मीले धार्मिक स्थल रिडीमा अन्त्येष्टि गर्ने भने पनि परिवारको आग्रह अनुसार कर्मथलो धुर्कोटको धनार्जीमै शीर्ष नेताहरुको सहभागितामा अन्त्येष्टि गर्ने तयारी गरिएको भण्डारीले बताए।
यसैबीच पूर्व सांसद भण्डारीको निधनप्रति कांग्रेस गुल्मीले शोक सभाका कार्यक्रमहरु सार्वजनिक गरेको छ। सो अनुसार सबै तहका पार्टी कार्यालयहरुमा सात दिनसम्म पार्टीको झण्डा झुकाउने, एक हप्तासम्म पार्टीका औपचारिक कार्यक्रमहरु बन्द हुने भएको छ।
पाचाैँदेखि ११औँ दिनसम्म क्षेत्र, नगर र गाउँ समितिले श्रद्धाञ्जली सभा गर्ने, १२औँ दिन वैशाख ९ गते जिल्ला पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा हुने जिल्ला पार्टी कार्यालयले जनाएको छ।