धनगढी - नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई सघाएको आरोपमा प्रहरीले चार महिने शिशु सहित एक महिलालाई पक्राउ गरेको छ।
कैलालीको गोदावरी नगरपालिका–५ की सीता देउकरलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतलले केही दिन पहिले कैलालीमा भएको बस आगजनीमा सीताको देवर रुपलाल देउकरको संग्लता रहेको र उनलाई लुकाउन सघाएकाले पक्राउ गरेको बताए।
सीताकी अर्का देवर पुरन देउकरका अनुसार रुपलालसँग देवर–भाउजुको नाता भएको र देवरलाई आफ्नो घरमा बस्न दिएकै कारण झुक्याएर हिरासतमा लिइएको जनाएको छ।
सीताका श्रीमान कामको शिलशिलामा भारतमा छन्। गत चैत ११ गते रुपलाललाई प्रहरीले पक्राउ गरेको थियो। विप्लव समूहले भने विप्लवको कार्यकर्तालाई सघाएकै भरमा महिलालाई पक्राउ गरेको आरोप लगाएको छ।
हिरासतमा रहेका देवर रुपलाल देउकरबारे समान्य सोधपुछ गर्ने भन्दै सीता देउकरलाई बुधवार उनकै घर गोदावरी नगरपालिका–५ बाट बच्चासहित हिरासतमा राखेको परिवारिक स्रोतले जनाएको छ।
बुधबार प्रहरीले विप्लव समूहको दुईजना जिल्लास्तरीय नेतालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बर्दगोरिया गाँउपालिका जनसरकार प्रमुख अमर बम र अखिल क्रान्तिकारी किसान संघका कैलाली अध्यक्ष उदयराज थापा छन्।
यसअघि कैलारी गाउँपालिका–५ गोबरैलाका आशिष चौधरी र लम्की चुहा नगरपालिका–१ लम्कीका ध्रुव सञ्ज्याललाई नियन्त्रणमा लिइसकेको छ। नियन्त्रणमा रहेको चौधरी र सञ्ज्याल आफ्नो कार्यकर्ता नभएको सो समूह स्रोतले जनाएको छ।