पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार पूर्ण रुपमा असफल भएको बताएका छन्। बिहीबार पोखरामा शुरु भएको नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो भेलालाई सम्बोधन गर्दै उनले देशमा हत्या, हिंसा, बलात्कार बढेकाे र जनतालाई करको भारी थोपरेका कारण सरकार असफल भएको बताए।
सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको र निर्मला पन्तको बलात्कारपछि हत्या भएको यतिका समय बित्दा पनि हत्यारा पत्ता लगाउन नसकेकाले सरकार पूर्णतः असफल भएको देउवाले तर्क गरे।
प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्था कतै नभएको भन्दै यो विषय कांग्रेसलाई मान्य नहुने देउवाले बताए। ‘नेपालमा मात्रै हैन विदेशमा पनि प्रधानमन्त्रीले सेना चलाउने व्यवस्था छैन,’ उनले भने।
कम्युनिष्ट सरकारक चौतर्फी रुपमा सत्ता कब्जा गर्ने रणनीतिमा मात्र रहेको उनको आरोप थियो। प्रेस र संवैधानिक निकायलगायत सबै पक्षलाई नियन्त्रण गर्न खोजेको भन्दै कांग्रेसले त्यसको कडा प्रतिकार गर्ने उनले बताए। नेपाली कांग्रेसलाई मिलाएर एक ढिक्का बनाउने उनले दाबी गरे। वैशाखदेखि नेपाली कांग्रेसले देशव्यापी जागरण अभियान चलाउनेसमेत उनले जानकारी दिए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको गतिविधि अलोकतान्त्रिक ढंगले अघि बढेको बताए। ‘यस विषयमा नेपाली कांग्रेस एकजुट भएर विरोधमा उत्रन्छ,’ उनले भने, ‘संवैधानिक निकायमा नियुक्ति गर्दा निष्पक्ष मान्छे नियुक्ति गर्नुपर्छ।’
नेता शेखर कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू तत्पर रहेको बताएका थिए। सम्मेलन शुक्रबार समापन हुनेछ।