काठमाडौँ - नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले अझै पनि बृहत् शान्ति सम्झौताको पूर्ण कार्यान्वयन हुन नसकेको बताएका छन्।
बुधबार काभ्रे कांग्रेसले भकुण्डेबेँसीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा नेता सिटौलाले पछिल्लो समय देशमा अशान्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।
बृहत् शान्ति सम्झौताका एक प्रमुख पात्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना सहयोद्धा नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा बोलाएर अहिंसात्मक बाटोमा ल्याउन नसकेको तिखो आरोप लगाएका छन्।
https://www.facebook.com/mainali.kavre/videos/2132216106814601/
उनले भने, ‘प्रचण्ड अहिले सत्तामा छन्, उनका सहयोद्धा विप्लव हिंसात्मक बाटोमा छन्, उनलाई प्रचण्डले किन वार्तामा ल्याउन सक्दैनन्? जनतामा त्रास पैदा भएको छ, फेरि कतै हिंसा र आतंक सिर्जना हुने त होइन? भन्ने प्रश्न खडा भएको छ, सबैभन्दा चिन्ताको विषय नै यही हो।’
नेपाली कांग्रेसले जंगलमा रहेको तत्कालीन माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याएको स्मरण गर्दै नेता सिटौलाले प्रचण्डलाई गम्भीर बन्न आग्रह गरेका छन्। उनले भने, ‘तत्कालीन माओवादी सशस्त्र युद्धमा थियो, कांग्रेसले शान्तिको बाटोमा ल्यायो, देशमा शान्ति कायम गर्ने काममा नेपाली कांग्रेस सफल भयो, आज प्रचण्ड सत्तामा हुँदा हिंसात्मक गतिविधि बढिरहेका छन्, पूर्वराजाका क्रियाकलापहरू गणतन्त्रको विरुद्धमा छन्, यस्तो अवस्थामा सरकार गम्भीर बन्नुपर्छ कि पर्दैन?’
संविधानको गलत ब्याख्या
सरकारले संविधानको गलत व्याख्या गरेको आरोप लगाउँदै नेता सिटौलाले भने, ‘सरकार संविधानको गलत व्याख्या गरेर निश्चित स्वार्थ पूरा गर्न खोज्दैछ, सभामुख र उपसभामुख एउटै पार्टीका छन्, प्रतिपक्षी दल कांग्रेसले सरकारलाई भन्दै आइरहेको छ तर सुनिरहेको छैन, के हामीले योभन्दा ठूलो स्वरले भन्नुपर्ने हो?’
‘विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद्ले विभिन्न आयोग गठन गरेको छ, नियुक्तिहरू गरेको छ, यो संविधान र नियमबमोजिम भएन, किन यसरी प्रतिपक्षलाई माइनस गरिँदैछ ? के फेरि आन्दोलन गर्नु परेको हो ?’ सिटौला सरकारप्रति कडा रूपमा प्रस्तुत भए।
सम्बोधनका क्रममा उनले कार्यकर्तालाई भने, ‘यसरी सरकारले संवैधानिक व्यवस्थामाथि चौतर्फि प्रहार गरेको देखिन्छ, संविधानको रक्षा गर्ने काम सरकारको हो तर सरकारबाटै संविधान खतरामा पर्ने देखिन्छ, यस्तो बेलामा प्रतिपक्षले सशक्त आवाज निकाल्न सकने भने भोलिका दिनमा खतरा निम्तिने निश्चित छ, नेपाली कांग्रेसका कार्यकर्ताले तीनवटै तहमा सशक्त आवाज उठाउनुपर्छ।’
देश कठिन परिस्थतिबाट गुज्रिरहेको बताउँदै नेता सिटौलाले भने, ‘सत्तापक्ष संविधानभन्दा बाहिर गएर जनताको हितविपरीत काम गरिरहेको छ, यस्तो बेलामा प्रतिपक्षले उचित भूमिका निर्वाह गर्न सक्नुपर्छ, वैदेशिक हस्तक्षेप बढेको छ, अन्य देशसँगको सम्बन्ध असन्तुलित बन्दैछ।’
‘भारत र चीनको बीचमा रहेको भूगाेलका हिसाबमा सानो देशले कुनै पनि देशलाई नजिक र टाढा राखेर हेर्नुहुँदैन, सरकारले नपालको अन्तर्राष्ट्रिय सम्बन्धको आधारमा आफ्ना क्रियाकलाप अघि बढाउनुपर्छ तर सरकार यसमा असफल भएको देखिन्छ,’ उनी भन्छन्।