काठमाडौँ - कांग्रेस सभापति शेरबहादुर देउवाले उखान टुक्काले देश नबन्ने जिकिर गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उखान टुक्का मात्र भन्ने गरेकाले देश उखान टुक्काले नबन्ने बताएका हुन्।
कांग्रेस काभ्रेको क्षेत्र नं १ को पार्टी भवन शिलान्यास तथा कांग्रेस क्षेत्र नं १ ले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न बुधबार देउवा काभ्रे पुगेका थिए।
उनले देशमा नेकपाको सरकार आएदेखि बलात्कार र हत्या हिंसा बढेको बताए। देउवाले सरकार बलात्कार र हत्यारालाई जोगाउने काममा लागेको आरोप पनि लगाएका छन्।
त्यस्तै कांग्रेसका वरिष्ठ नेता कृष्ण प्रसाद सिटौलाले वर्तमान नेकपाको सरकारले अनेक कुनाबाट लोकतन्त्र र गणतन्त्रलाई प्रहार गर्न थालेको बताएका छन्।
सरकारले संविधान विपरित गतिविधि गरेको बताए। पहिला सँगसँगै कुम जोडेर हिँड्दा हुने तर अहिले उही साथीहरूलाई आतंककारीको र प्रतिबन्धी भन्नु उचित नभएको पनि सिटौलाले बताए।