पोखरा - आन्तरिक विवादमा फसेका नेतालाई एक ढिक्का बनाउने उद्देश्यले कांग्रेसका जिल्ला कोषाध्यक्षहरुले पोखरामा सम्मलेन गर्ने भएका छन्। मंगलबार पत्रकार भेटघाट गरेर सम्मेलनबारे जानकारी दिइएको छ।
चैत्र २८ र २९ गते दुई दिन पोखरा सभागृहमा सम्मेलन हुने बताइएको छ। सम्मेलनले पार्टी नेतृत्वलाई एकढिक्का हुन दबाब दिने बताइएको छ। गुट-उपगुटको कारण पार्टी कमजोर बन्दै गएकाले सम्मलेन गर्न लागिएको कांग्रेस जिल्ला कोषाध्यक्ष समितिका अध्यक्ष गोबिन्द पुडासैनीले बताए। ‘पार्टीमा मौलाउदै गएको गुट–उपगुटले गर्दा पनि पार्टी कमजोर बन्दै गएको हामीले महसुस गरेका छौं,’ उनले भने, ‘त्यसैले पनि यो सम्मेलन हुँदैछ।’
अगामी दिनमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे सुझाव साथै पार्टीलाई सुदृढ गर्न सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको उनको भनाइ थियो।
गएको मंसिरमा काठमाडौँमा सम्पन्न महासमिति बैठकको निर्णय कार्यान्वयन गराउन सम्मेलनमा बृहत छलफल गरी आवश्यक सुझाब साथै संघ, प्रदेश र स्थानीय तहमा रिक्त रहेका क्षेत्रमा निर्वाचनको लागि दबाब दिन केन्द्रीय समितिलाई सुझाव दिइने उनले बताए।
सरकारको गलत क्रियाकलापको विरुद्ध कार्यक्रम सञ्चालन गर्न केन्द्रसँग निर्देशन, क्रियाशील सदस्यलाई प्रशिक्षण, क्रियाशील सदस्यता वितरण गर्दा विधानसम्मत तल्लो तहको सिफारिसमा पारदर्शी र वैज्ञानिक तवरले वितरण गर्ने, विदेश पलायन भएका युवा स्वदेशमा रोजगारको व्यवस्था गर्न पार्टीमार्फत सरकारको ध्यानाकर्षण गराउने, जिल्ला कोषाध्यक्षहरुलाइ आर्थिक स्रोत सुदृढ, पारदर्शी र जवाफदेही बनाउन प्रशिक्षणको लागि माग गर्ने लगायतका एजेण्डा तय गरेको अध्यक्ष पुडासैनीले जानकारी दिए।
सम्मेलनको पार्टी सभापति शेरवाहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।