काठमाडौँ, १९ पुस। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी शपथपछि स्वतः ‘निलम्बित हुन्छन् कि हुन्नन्?’ प्रष्ट पार्न माग गरेको छ।
बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘चौधरी निलम्बन हुन्छन् कि हुन्नन्’ भन्दै सरकारको जवाफ माग गरेका हुन्।
उनले ट्वीटमार्फत भनेका छन्, ‘प्रतिनिधिसभा नियमावली २४४ (३) भन्छ –नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले सांसदको हैसियतमा काम गर्न पाउने छैनन्। उपनियम–४ भन्छ, फौजदारी मुद्दामा अदालतको अन्तिम फैसला नआएसम्म, कैदमा बसेको सांसद पद स्वतः निलम्बन हुन्छ।’
शर्माले संवैधानिक सर्वोच्चता, साझा सहमति र मुलुकको अग्रगतिको मूल बाटो रहेको उल्लेख गर्दै निश्चित दल विशेषको सरकारलाई गणितीय बल थप्ने नाममा यो दायरा उल्लंघन गरिनु नैतिक र राजनीतिक दुवै कोणबाट गलत भएको औँल्याएका छन्।
चौधरी २०७२ भदौ ७ को टीकापुर घटनाका याेजनाकार भएकाे आरोपमा हाल थुनामा छन्। साे घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जनाको ज्यान गएको थियो।
साे घटनापछि फरार भएका चाैधरी भूमिगत अवस्थामै कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचन लडी विजयी भएका थिए।
चौधरीलाई सभामुख कृष्णबहादुर महराले आज आफ्नो कार्यकक्ष सिंहदबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।