बागलुङ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टीभित्र गुठको कारण पार्टीको एकीकृत शक्ति क्षय भएको बताएका छन्। नेपाल प्रेस युनियन बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेस गुठउपगुठमा भाँसिदा प्रतिपक्षको भूमिका कमजोर देखिएको उल्लेख गरे।
‘पार्टीभित्रको गुठगत निर्णय नै वर्तमानको चुनौती हो’ उनले भने, ‘आन्तरिक शक्तिलाई एकीकृत नगरे बलियो प्रतिपक्ष बन्न सकिँदैन।’ नेपाली कांग्रेसले राजनीति र धर्मलाई फरक दृष्टिले हेरेको बताए। राज्यको आफ्नो धर्म हुँदैन उनले भने, ‘सबै नागरिकले मान्ने धर्मलाई समान महत्त्व दिनु आवश्यक छ।’ नेपाल बहुधार्मिक, सांस्कृतिको धनी देशको उल्लेख गरे।
नेता आचार्यले विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले तत्काल हिंसाको बाटो छोडेर सहमतिमा आउन आग्रह गरे। ‘हिंसात्मक राजनीतिले कहीँ पुगिँदैन उनले भने, ‘सरकारले पनि राज्य शक्तिको बलमा ठीक पार्छु भन्ने हट छोडेर वार्तालाई अगाडि बढाउनुपर्छ।’
‘प्रधानमन्त्री राजनीतिक सहिष्णुता विग्रान उद्दृत हुनुहुन्छ’ उनले भने, ‘स्थिरताको मापदण्ड पूरा नगरे दुई तिहाइको सरकार सञ्चालनमा समस्या हुन्छ।’ प्रधानमन्त्री आन्तरिक पार्टी र अन्तरपार्टी समन्वयमा चुकेको आरोप लगाए। पूर्वअर्थमन्त्रीसमेत रहेका आचार्यले वर्तमान सरकारले वैदेशिक लगानीमैत्री वातावरण तयार गर्न नसककेको दाबी गरे। प्रधानमन्त्रीले राज्य शक्तिको एकीकृत गर्दा पुँजीगत खर्चमा आशातीत परिचालन हुन नसकेको उल्लेख गरे।
देशको आन्तरिक स्रोत परिचालनबाट मात्र समृद्धि नआउने उल्लेख गर्दै उनले विदेशी लगानी भिœयाउनुका साथै निजी क्षेत्रलाई उद्योगधन्दा कलकारखाना सञ्चालन गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए।
‘उच्च आर्थिक वृद्धि नभएसम्म बेरोजगारी समस्या हट्दैन’ उनले भने, ‘राजस्वको अधिकतम परिचालन र प्रशासनिक खर्च कटौती गरे मात्र विकास निर्माणको काममा लगानी गर्ने हैसियत विकास हुन्छ।
न्यायालयमा सरकारको छाया देखिन थालेको उल्लेख गर्दै उनले शक्ति सन्तुलनको सिद्धान्तलाई कामय राख्न आग्रह गरेका थिए। सांसदको सर्वोच्चता होइन, संविधानको सर्वोच्चता हुनुपर्छ उनले भने, ‘दुई तिहाइको आडमा जे पनि गर्न पाइन्छ भन्नु भ्रम हो।’ यो समाचार राजधानी दैनिकले छापेको छ।