काठमाडौँ - पर्सामा जन्मसिद्धका आधारमा बुबाआमाको नागरिकता लिएर आउने सन्तानलाई वंशजको आधारमा नागरिकता वितरण गर्ने कार्य शुरु भएको छ।
संघीय सांसद प्रदीप यादवले आइतबार जन्मसिद्धका आधारमा बुबाआमाको नागरिकता लिएर आएका तीन जनालाई वंशजको आधारमा नागरिकता वितरण गरि उक्त कार्यको शुरुआत गरे। उनले वीरगञ्ज महानगरपालिका, १३ का विकाश कुमार सराफ, अन्नु कुमारी सराफ र महम्मोद सेख अरमान अलामलाई नागरिकता वितरण गरेका छन्।
संघीय समाजवादी फोरम नेपालका सांसद यादवले २०७४ साल साउन २५ गते वीरगंज महानगरपालिका, पर्सा जिल्ला प्रशासन कार्यालय, गृहमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र व्यवस्थापिका संसदलाई विपक्षमा राखेर जन्मसिद्ध नागरिकता लिएका व्यक्तिहरुका सन्तानहरुले वंशजका आधारमा पाउनुपर्ने भनेर निवेदन दिएका थिए। सांसद यादवको पक्षमा सर्वोच्च अदालतले चैत्र १९ गते फैसला गरेको थियो।
वंशजको आधारमा नागरिकता वितरण कार्य शुरु गर्न पाएकोमा यादवले खुसी व्यक्त गरे। ‘संविधान र कानूनमा वंशजको आधारमा नागरिकता वितरण गर्नुपर्ने व्यवस्था भएपछि वितरण हुन सकेको थिएन, लामो प्रयासपछि आफै वंशजको आधारमा नागरिकता वितरण गर्न पाएको छु। मसँगै धेरै नागरिक खुसी भएका छन्।’ उनले नेपाली पब्लिकसँग भने।