पोखरा - गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई संविधान र कानुन अनुसार नै प्रतिवन्ध लगाइएको बताएका छन्। आइतबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पोखरा आएका गृहमन्त्री थापाले यस्तो बताएका हुन्।
प्रतिबन्धपछि विप्लव समूहलाई मुलधारको राजनीतिमा ल्याउन सरकारले प्रयास गरिरहेको उनको भनाई थियो। ‘विप्लव समूहको गतिविधि संविधानविपरित छ,’ उनले भने, ‘त्यसैले सरकारले यो समूहलाई प्रतिबन्ध लगाएको हो। प्रतिबन्ध लगाए पनि विप्लव समूहलाई मुलधारको राजनीतिमा ल्याउन सरकार लागिपरेको छ।’ सरकार देशमा शान्ति, सुरक्षा कायम राख्न सक्षम रहेको पनि उनले दाबी गरे।
आँधीहुरीका कारण तराइमा आएको विपत्तिलाई व्यवस्थापन गर्न सरकार लागिरहेको गृहमन्त्री थापाले बताए। उनले भने, ‘आगामी दिनमा यस्ता घटनाको न्युनीकरण गर्न सरकार सक्षम छ।’
गोष्ठीमा गृहमन्त्री थापासँगै गृहसचिव प्रेमकुमार राई, सशस्त्रका आईजीपी शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका डीआईजी पुष्कर कार्की, गृह सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृहमन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी, गृह मन्त्रालय सहसचिव इन्दु घिमिरे, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिरीक्षक बिन्दु काफ्ले लगायतका उच्च अधिकारीको सहभागिता छ।