पुस १८, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बिहीबार गर्ने भनिएको सम्बोधन अन्तिम समयमा आएर स्थगन भएको छ।
प्रधानमन्त्री ओलीले बिहीबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी थियो। तर, कार्यव्यस्तताको कारण देखाउँदै उनले आज संसदलाई सम्बोधन नगर्ने भएका हुन्।
वाइडबडी विमान खरिदमा भएको अनियमितता तथा फौजदारी अभियोग लागेका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई शपथ गराइएकाे विषयमा प्रश्न उठ्ने सम्भावना देखेपछि उनले आफ्नो सम्बोधन स्थगन गरेकाे हुनसक्ने स्राेतकाे दाबी छ।
वाइडबडी विमान खरिद प्रकरणबारे सार्वजनिक रुपमा केही नबोलेका प्रधानमन्त्री ओलीले बिहीबारको संसद बैठकमा हुने सम्बोधनको क्रममा यसबारे सरकारको तर्फबाट धारणा राख्ने अपेक्षा गरिएको थियो ।
सार्वजनिक लेखा समितिअन्तर्गत गठिन छानबिन उपसमितिको प्रतिवेदनमा पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित दुई पूर्वमन्त्री र तीन सचिवलाइ कारबाहीका लागि सिफारिस गरिएकाे छ। प्रतिवेदनमा नेपाल वायुसेवा निगमका निर्देशक सुगतरत्न कंसाकारलाई पनि कारबाहीकाे दायरामा ल्याउन भनिएकाे छ। वाइडबडी विमान खरिद प्रकरणमा चार अर्ब ३५ करोड ५६ लाख बराबरको आर्थिक अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ।