काठमाडौँ, १९ पुस। कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा राष्ट्रिय जनता पार्टी (राजपा)का नेता रेशमकुमार चौधरीले बिहीबार शपथ लिने भएका छन्। उनलाई सभामुख कृष्णबहादुर महाराले अपराह्न ३ बजे आफ्नो कार्यकक्ष सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका हुन्।
कैलाली घटनामा मुद्दा खेपिरहेका चाैधरी हाल पुर्पक्षका लागि डिल्लीबजारस्थित चारखाल कारागारमा थुनामा छन्। शपथपछि उनलाई प्रहरीले फेरि कारागारमै लैजाने बताइएको छ।
२०७२ भदौमा भएको उक्त घटनामा एसएसपी लक्ष्मण न्याैपानेसहित आठ जनाकाे ज्यान गएकाे थियाे। घटनाकाे मुख्य याेजनाकार रहेकाे आराेप लागेपछि चाैधरी फरार भएका थिए। फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचन लडेका चाैधरी विजयीसमेत भएका थिए।
निर्वाचित भएपछि प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै उनले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। तर, सर्वोच्चले रिट खारेज गरिदिएपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए।
यसअघि उनलाई शपथ गराउनुपर्ने माग राख्दै राजपाले सरकारलाई अल्टिमेटमसहित पटकपटक दबाब दिँदै आएको थियो।
राजपा अध्यक्ष मण्डलका संयोेजक राजेन्द्र महतोले गत पुस ११ गतेको संसद् बैठकमा समेत चौधरीलाई छिटो शपथ ग्रहण गराउनुपर्ने माग राख्दै आफ्नो माग पूरा नभए आन्दोलन गर्ने चेतावनी थिए।