वीरगञ्ज – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बारा–पर्साका हावाहुरीबाट क्षति पुगेका घरको निर्माण डेढ महिनाभित्रै सक्ने दावी गरेका छन्।
वीरगञ्जमा आयोजित नेपाल प्रजापति (कुम्भकार) महासंघको ७औं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै पण्डितले नेपाली सेनाको सहयोगमा डेढ महिनाभित्रै भत्केका घरहरुको पुनर्निर्माण सक्ने बताएका हुन्।
‘हावाहुरीबाट बारा–पर्साका ध्वस्त भएका करिब २ हजार घर डेढ महिनाभित्रै बनाउने निर्णय गरी नेपाली सेनालाई निर्माणको जिम्मा दिएको छ,’ उनले भने।
मन्त्रिपरिषद बैठकबाट यस्तो निर्णय भएको पण्डितले जानकारी गराए। उनले भने, ‘क्याबिनेटले हिजै निर्णय गरिसकेको छ, पीडितहरुलाई संघीय सरकारले चार लाख रुपैयाँ आर्थिक सहयोग गर्ने र डेढ महिना घर बनाउने, घर निर्माणको जिम्मा सेनालाई दिइएको छ।’
पण्डितले पीडितहरुको सुविधाका लागि नेपाल सरकारले आवश्यक सबै काम गर्ने प्रष्ट पारे। एकअर्को प्रसंगमा उनले सरकार बेरोजगारी अन्त्य गरी देशमा गरिबी न्यूनिकरण गर्न बेरोजगारलाई १२० दिनको तलब भत्ता दिन पनि योजना ल्याएको बताए।
‘नेपाल सरकारले बेरोजगारहरुको तथ्यांक संकलन गर्न हरेक स्थानीय तहमा एक जना अधिकृत खटाइसकेका छ, आफू बस्ने गाउँपालिका, नगरपालिकामा गएर नाम दर्ता गराउनु होला र लाभ लिनुस्,’ उनले भने, ‘अबको समयमा कोही पनि बेरोजगार बस्दैन, नेपाल सरकार तपाईको साथमा छ।’
केही महिनामा २० हजार युवाका लागि नेपाल सरकारले लोकसेवा आयोग खोल्न लागेकाले प्रतिस्पर्धाका लागि तयार रहन पनि मधेशका युवालाई उनले आग्रह गरे। ‘प्रतिस्पर्धा नगर्नेले जीवन बाँच्न गाह्रो पर्छ, त्यसैले जातले पण्डित नबनी बुद्धिले पण्डित बनेर आफ्नो स्थान सुरक्षित गर्न आग्रह छ,’ उनले भने।
माटोका भाडाकुडा बनाएर मात्रै जीविकोपार्जन हुन नसक्ने बताउँदै पण्डितले प्रजापति जातिले शिक्षा क्षेत्रमा अब्बल बन्नु पर्ने बताए।