काठमाडौँ – हरिनारायण रौनियार, जुन नामले उनलाई थोरैले मात्र चिन्छन्। तर, यही नामसँग जोडिएर आउने पप्पु कन्स्ट्रक्सनलाई प्रायः सबैले चिन्छन्।
नचिनुन् पनि कसरी ! पछिल्लो समय देशका सबैजसो सञ्चारमाध्यमले पप्पु कन्स्ट्रक्सनको नाम नछापेको र नबोलेको दिन कमै हुन्थ्यो।
‘पप्पु कन्स्ट्रक्सन कालोसूचीमा’, ‘कामै नगर्ने पप्पु कन्स्ट्रक्सनलाई किन ठेक्का परेको प¥यै?’, ‘पप्पु कन्स्ट्रक्सन ः काम नगर्ने, ठेक्का पाइरहने’, ‘पप्पु कन्स्ट्रक्सनलाई ५ करोड ५० लाख जरिवाना’, ‘पप्पु कन्स्ट्रक्सन भर्सेस राज्य’, ‘पप्पु कन्स्ट्रक्सन कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने’, ‘पप्पु कन्स्ट्रक्सनको अर्काे कर्तुत, तीन वर्षमा पनि बनेन बागमतीमा पुल’, ‘पप्पु कन्स्ट्रक्सनविरुद्ध मुद्दा दायर’, ‘पप्पु कन्स्ट्रक्सन शक्तिशाली, सरकार निरीह’, ‘चरम् लापरवाही गरेको पाइएपछि पप्पु कन्स्ट्रक्सन सडक विभागको समेत कालोसूचीमा’ – यस्तै यस्तै शीर्षक राखेर पप्पु कन्स्ट्रक्सनबारे समाचार लेखिन्थ्यो, लेखिँदैछ पनि।
हो, यही विवादित कन्स्ट्रक्सन कम्पनीका मालिक हुन्– हरिनारायण रौनियार। निलम्बित सांसद। हुन त उनी आफू पप्पुको मालिक नभएको बारम्बार भनिरहन्छन्। तर, उनको कुरा कसैले पत्याउँदैन।
‘राजनीतिमा आउनका लागि मैले यो कम्पनी छोरालाई बेचिसकेको छु’ भन्ने उनको कुरा तर्कसङ्गत पनि लाग्दैन। त्यसमाथि राज्यले नै नपत्याएर सांसद पदबाटै निलम्बन गरिदिएपछि अरूले पत्याउने कुरै भएन। संघीय समाजवादी फोरम नेपालका तर्फबाट निर्वाचित रौनियारलाई संघीय संसद् सचिवालयले गत असोज १९ गते निलम्बन गरेको थियो। त्यसलगत्तै उनको पार्टीले निलम्बन फुकुवा गर्न सभामुखलाई ज्ञापनपत्र नै बुझाएको थियो।
रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएकाले उनीमाथिको निलम्बन सहजै फुकुवा हुनसक्ने देखिँदैन। त्यसपछि पनि उनको पार्टीले बारम्बार निलम्बन हटाउन दबाब दिइरहेको छ। यसै विषयमा संसदमै पनि पटक–पटक आवाज उठिसकेको छ। सांसद पदबाट निलम्बित भएपछि उनी आजकल प्रायः आफ्नै गृहनगर वीरगञ्जतिर देखिन्छन्।आफ्नै तालिकाको काम र विभिन्न राजनीतिक गतिविधिमा दौडिरहेका हुन्छन् उनी।
जिल्लामा चलिरहेको पार्टीको आन्तरिक राजनीतिमा सक्रिय देखिएका उनी शुक्रबार एक सार्वजनिक कार्यक्रममा भेटिए। उनी प्रदेश नम्बर २ सरकारले वीरगञ्जमा बनाउन लागेको सडकको शिलान्यास कार्यक्रममा पुगेका थिए। प्रदेशका मुख्यमन्त्री लालबाबु राउत सडकको शिलान्यास गर्न पुगेका थिए। शिलान्यास गर्ने क्रममा रौनियार मुख्यमन्त्रीको छेउमै पलेँटी कसेर बसेका थिए।
शिलान्यास गर्नुअघि केही औपचारिक कार्यक्रम पनि भएको थियो। ससफोका नेता घनश्याम कुशवाहाले कार्यक्रममा उद्घोषण गर्दै मुख्यमन्त्री राउतलाई प्रमुख अतिथिको आसन ग्रहण गराएपछि प्रदेश नम्बर २ का सांसद प्रह्लाद गिरी, करिमा बेगम, सिंहासन साह कलवार लगायतलाई पनि अतिथिका रूपमा आसन ग्रहण गराए। त्यसैबीच कुशवाहाले रौनियारलाई पनि आसन ग्रहण गराए।
आफ्नै पार्टीका नेतालाई आसन ग्रहण गराउनुलाई अन्यथा लिन त सकिँदैन तर उद्घोषक कुशवाहाले रौनियारलाई सांसदकै रूपमा आसन ग्रहण गराएपछि भने त्यहाँ उपस्थित सञ्चारकर्मीहरूले आश्चर्य व्यक्त गरेका थिए। यसै सन्दर्भमा रौनियारकै पार्टीका एक नेतासँग कुरा गर्दा उनले भने, ‘उहाँ अहिले सांसद होइन, निलम्बनमै परिसकेपछि कसरी सांसद भन्न मिल्छ?’