डी.आर बन्जाडे, बुटवल – बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि राहत स्वरुप प्रदेश ५ सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले गत आइतबारको हावाहुरीका कारण ज्यान गुमाएका परिवार, घाइते तथा घरबार बिहीन बनेकाहरुका लागि प्रदेश सरकारको तर्फबाट एक करोड रुपैयाँ राहत स्वरूप प्रदान गर्ने निणर्य गरेको हो।
प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पू्र्वाधारमन्त्री बैजनाथ चौधरीले उक्त सहयोग रकम प्रदेश २ सरकारको कोषमा जम्मा गरिने जानकारी दिए।
त्यस्तै मन्त्रीपरिषद बैठकले नेपाली कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता ८० वर्षीय बलदेव शर्मा पोखरेललाई उपचारका लागि पाँच लाख रुपैयाँ दिने पनि निर्णय गरेको छ।
क्यान्सर पीडित कांग्रेस नेता शर्माको उपचार काठमाडौँको नर्भिक अस्पतालमा भइरहेको छ। तीन महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका पोखरेललाई केही दिनअघि भरतपुर अस्पतालले काठमाडौँ रेफर गरेको थियो।