काठमाडौँ – राष्ट्रिय विकास परिषदको बैठक बुधवारदेखि काठमाडौँमा शुरु भएको छ। बिहिबारसम्म सञ्चालन हुने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।
बैठकले पन्ध्रौं योजनाको आधारपत्रलाई अन्तिम रूप दिने राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रूपाखेतीले बताए। आयोगले २५ वर्षे दीर्घकालीन सोचसहित आधारपत्र तयार पारेको छ। सो आधारपत्रमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने रणनीति छ ।
राष्ट्रिय विकास परिषदको बैठकमा प्राप्त सुझावलाई समेट्दै आधारपत्रलाई अन्तिम रूप दिएर मन्त्रिपरिषदमा पठाउने योजना आयोगको तयारी छ।
बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारको उपस्थिति रहेको छ।
त्यस्तै प्रदेशका मुख्यमन्त्रीहरू, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सांसद्हरू, योजना आयोगका अध्यक्ष, सदस्य, गभर्नर प्रदेश सरकारका योजना हेर्ने निकायहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, स्थानीय जनप्रतिनिधिलगायत करिब ३ सय ५० जना सहभागी भएका छन्।